
बासुदेव बर्मा
कपिलबस्तु, कार्तिक ११ । ‘हर प्रहर गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ देशैभर समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको छ । सोही क्रममा कपिलबस्तुमा पनि यो कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमअन्तर्गत कपिलवस्तु जिल्लाका १० स्थानीय तहसँग साझेदारीमा कार्यक्रम सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा प्रहरी उपरीक्षक अच्युतप्रसाद पुडासैनी र सम्बन्धित स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
सुरक्षा व्यवस्थापनमा जन सहयोग अभिबृद्धि गर्ने, संगठित अपराधको सञ्जाल निश्तेज पारी नियन्त्रण गर्ने, सामुदायिक प्रहरीको अवधारणालाई विस्तार गर्न साझेदारी गर्ने, नागरिकलाई सुरक्षा सम्बन्धी सेवामा परिचालन गर्न प्रशिक्षणको व्यवस्था गर्ने, युवा सचेतना कार्यक्रम तथा विवाद समाधानमा बैकल्पिक उपाय पहिचान, स्थापना तथा प्रयोग गर्ने रणनीतिक उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक पुडासैनीले जानकारी दिए ।
सो अवसरमा नेपाल प्रहरी र स्थानीय तहले अबलम्बन गर्ने साझा जिम्मेबारीबारे समेत जानकारी दिईएको थियो । साझेदारीकै आधारमा नागरिकको जीउधनको सुरक्षा, सामाजिक बिकृती रोकथाम, सामुदायिक सचेतना, बिपद व्यवस्थापन, मध्यस्तता र मेलमिलाप, वातावरण संरक्षण, विद्यालय सचेतनाका साथै महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणमा साझा जिम्मेबारी बहन गर्न सकिने जनाईएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले उद्घाटन गरेका थिए । सो अवसरमा जिल्लाका स्थानीय तहका प्रमुख र प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, विद्यालयका बालबालिका लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्