
मीरा बस्नेत (इमेज)
काठमाडौं, कात्तिक १० । विश्वव्यापी चर्चामा रहेको ‘मीटू’ अभियानले नेपालमा पनि प्रवेश पाएको छ ।
नेपालमा पनि केही महिला पत्रकारहरुले आफूहरुमाथि यौनशोषण भएको मीटू अभियानमार्फत् सार्वजनिक गरेका छन् ।
अमेरिकाका केही महिलाले यौनउत्पीडनविरूद्ध गत वर्ष सामाजिक सञ्जालमा आवाज उठाउँदै सुरु गरेको ‘ह्यासट्याग’ मीटू अभियान विश्वव्यापी फैलिएको छ ।
९० भन्दा बढी देशका महिलाले यो अभियानमार्फत् आफूमाथि भएका यौनहिंसाका घटनालाई सार्वजनिक गरेका छन् ।
हलिउडका नामी फिल्म निर्माता हार्भे विन्स्टनविरुद्ध थुप्रै अभिनेत्रीले यौनउत्पीडन र दुर्व्यवहारको आरोप लगाएका थिए ।
‘न्यूयोर्क टाइम्स’ले ती अभिनेत्रीहरुको बयान सिलसिलेवाररुपमा छाप्यो । अन्ततः हलिउडका हस्तीले हार मान्नुपर्यो ।
यो अभियानले भारतमा पनि तरंग पैदा गरेको छ । नाम चलेका कलाकार, पत्रकार र राजनीतिज्ञको हर्कत सार्वजनिक भएको छ ।
भारतका विदेश राज्यमन्त्री एमजे अकबर त प्रकरणले पदबाट राजीनामा दिन बाध्य भए ।
चर्चित अभिनेता आलोकनाथ, लेखक चेतन भगतलगायत नाम चलेका पत्रकार पनि दुर्व्यवहारको आरोपमा मुछिएका छन् ।
मीटू अभियान नेपालको राजनीतिमासमेत प्रवेश गरेको छ । केही नेपाली महिलाहरुले सामाजिक सञ्जालमार्फत् आफूविरुद्व यौनशोषण र दुर्व्यवहार भएको दाबीसहितको विवरण सार्वजनिक गरेका छन् ।
पत्रकार रश्मीला प्रजापतिले प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री केशव स्थापितमाथि यौनजन्य हिंसाको आरोप लगाएकी छन् ।
उनले १५ वर्षअघि आफू काठमाडौं महानगरपालिकामा कार्यरत् रहँदा तत्कालीन मेयर स्थापितले आफूमाथि यौनदुर्व्यवहार गरेको दाबीसहितको विवरण सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
अर्की पूर्वपत्रकार उज्जला महर्जनले पनि प्रजाप्रतिको आरोपलाई सहयोग पुग्नेगरी मन्त्री स्थापितले आफूलाई पनि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
यस अभियानले महिलालाई आफूमाथि भएको यौनजन्य हिंसाविरूद्ध बोल्ने साहस दिएको छ । तर, तथ्य र प्रमाणको दह्रो अभावमा मीटू अभियान आरोप–प्रत्यारोमै सीमित हुने खतरा पनि छ ।
म्यादहदका कारणले आरोपीलाई कानुनी दायरामा ल्याउन सहज नभएको अधिवक्ता मीरा ढुंगाना बताउँछिन् । यसका लागि कानुन नै संशोधन गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।
केहीले मीटू अभियान चर्चित व्यक्तिविरुद्ध रिसिइबी साँध्ने माध्यम बनेको पनि टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्