९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


‘चरम राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेश पलायन’


0
Shares

काठमाडौं, कात्तिक ९ । चरम राजनीतिकरणका कारण नेपालका वैज्ञानिकहरु विदेश पलायन भएको गुनासो बुद्धिजीवीहरुले गरेका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको विभिन्न देशहरुका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको चारदिने सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बताएका हुन् ।

उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यून भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत सहयोग र अवसर नदिएको गुनासो गरे ।

नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत बौद्धिक सम्पत्ति अधिकार दिन सरकारसँग माग गर्दै सहभागीहरुले अझैपनि देशमै रहेका वैज्ञानिकहरुलाई विदेशिनबाट रोक्न सरकारले योजना ल्याउनुपर्नेमा उनीहरुको जोड थियो ।

सरकारले मदन भण्डारी विश्वविद्यालय खोल्ने स्वीकृति दिनु सकारात्मक भएपनि यसअघि नै सन्चालनमा रहेका विश्वविद्यालयहरुलाई धरासायी हुनबाट जोगाउनेतर्फ पनि सरकारको ध्यान जानुपर्नेमा बुद्धिजीवीहरुको भनाइ थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिँदै विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई देशको माया भए स्वदेश फर्कन आग्रह गरे ।

सम्मेलनमा नेपाल, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।