
काठमाडौं, कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाइ श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरुविरुद्ध आरोपत्र दायर गरेको हो ।
नक्कली कागजात बनाइ श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलमा कार्यरत् शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
सोही कार्यालयका नायब सुब्बा अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री र केशवराज ढुंगानाले गलत लगत खडा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको आयोगले जनाएको छ ।
त्यस्तै, कम्प्युटर अपरेटर अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाहीविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ ।
राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत कागजात संलग्न गरी श्रम स्वीकृति लिने/दिलाउने कार्यमा सहयोगी मतियारको काम गरी/गराइ सोबाट आफूलेसमेत आर्थिक लाभ लिने/खाने कार्यमासमेत सहयोगीको भूमिकामा रहेका राजीवकुमार पञ्जियार र विकास थापाविरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ ।
विचौलियाको मिलेमतोमा बिनाप्रवेशाज्ञा एवं गलत कागजातमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको भन्ने उजुरीका आधारमा आयोगले २०७४ भदौ ९ देखि कात्तिक ८ गतेसम्म उक्त कार्यालयबाट प्रदान गरिएको श्रम स्वीकृतिलगायतको विवरण अनुसन्धान गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि ती कर्मचारीको भूमिका शंकास्पद देखिएको भन्दै मन्त्रालयले उनीहरुलाई अन्यत्रै सरुवा गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्