२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कोइला खोलामा पक्की पुल नहुँदा समस्या, मन्त्रीसहितको टोलीद्वारा स्थलगत निरीक्षण


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु कार्तिक ९ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मीस्थित कोइला खोलाको प्रदेशका मन्त्री, सांसद तथा जिल्ला नेताहरुले स्थलगत निरीक्षण गरेका छन् । कोइला खोलामा पक्की पुल नहुँदा स्थानीयलाई आवात जावतमा समस्या परेपछि मन्त्रीसहितको शीर्ष टोलीले स्थलगत निरीक्षण गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद विष्णु पन्थी, नेकपाका नेता झविलाल पोख्रेल, नेता कृष्ण पौडेल, नगरपालिकाका उपमेयर चक्र अर्याल, वडाअध्यक्ष गुणनीधि भुसाल, धु्रब बेल्वासे लगायतले कोइला खोलामा रहेको काठे पुलको स्थलगत निरीक्षण गरेका हुन् ।

मन्त्री चौधरीले पक्की पुल निर्माणका लागि आफ्नो मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वसान समेत दिए । वाणगंगा नगरपालिकाको वडा नं. ८ र ९ लाई जोड्ने महत्वपूर्ण स्थानमै पुल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको वडा अध्यक्ष गुणनीधि भुसालले बताए । वडा अध्यक्ष भुसालले पक्की पुल निर्माणका लागि सांसद विष्णु पन्थी, प्रदेश तथा केन्द्र सरकारलाई आवश्यक पहल गर्न अनुरोध गरे ।

उक्त स्थानमा काठको पुल निर्माण त भएको छ तर काठको पुल जीर्ण हुँदा समस्या हुँदै आएको छ । यस्तै यस पुलको माध्यमबाट मानिसहरु आवातआवात गर्न सके पनि सवारीसाधन आवातजावत हुन नसक्दा समस्या परेको स्थानीयले बताएका छन् ।

पक्की पुलको माग गर्दै आएका त्यहाँका स्थानीयको माग अब भने पूरा हुने बताइएको छ । यस स्थानमा पक्की पुल निर्माणका लागि डिपिआर तयार भइसकेको प्रदेश सांसद विष्णु पन्थीले बताए । उनले आवश्यक बजेट छुट्याउन प्रदेश सरकारबाट विशेष पहल हुने बताए ।

पुल निर्माणसँगै कोइला खोलामा ड्याम निर्माण गरी पानीको भण्डारण गर्नतर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए । पानी भण्डारणपछि सिंचाई सुविधा पुग्ने भएकाले माछापालनबाट पनि राम्रो आयआर्जन गर्न सकिने सम्भावना रहेको विश्वास उनले व्यक्त गरे ।