११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


चुरे क्षेत्रका बस्तीमा खानेपानीको चरम संकट, खोलाको दूषित पानी पिउन बाध्य


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । गाउँ गाउँमा सरकार आएपनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थित चुरे क्षेत्रका बस्तीका स्थानीय भने सडक, शिक्षा, स्वास्थ्य र खानेपानीको अभावमा रुमल्लिएका छन् ।

त्यसमा पनि वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका उनीहरु अझै पनि खोलाको पानी पिउन बाध्य छन् ।

कञ्चनपुरको शुक्लाफाँटा– ८ पिल्लरीफाँटा, बर्रेगडा र धारापानी बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, बिजुलीबत्ती मात्र होइन पिउने पानीको समेत अभाव छ  ।

२०५८ सालदेखि बसोबास गर्दै आएका यहाँका स्थानीय न्यूनतम आधारभूत आवश्यकतामै  पिरोलिनुपरेको छ ।

शुद्ध पानी पिउनको लागि कि त दुई किलोमिटर टाढा पुग्नुपर्छ, नत्र खोलाकै पानी पिउनुपर्ने दुखेसो उनिहरु गर्छन् ।

खोलाको दूषित पानी पिउंदा विभिन्न किसिमका स्वास्थ्य समस्या यस ठाउंमा देखा पर्ने गरेका छन्् ।

खानेपानीको अभावमा विद्यालय उमेरका बालबालिका अझै मारमा परेका छन् । बिहान पानी बोक्न जानुपर्दा विद्यालय जान नसकिने गुनासो उनिहरुसंग छ ।

झण्डै चार सय घरधुरी रहेको यस बस्तीमा एकवर्ष अघि संयुक्त दर्शन नेपालको सहकार्यमा खानेपानी निर्माण भएपछि अहिले डेढसय परिवारलाई भने खानेपानीको व्यवस्था छ तर, अरुलाई भने समस्या उस्तै छ ।

यता,  खानेपानीका लागि नगरपालिकाले केन्द्रसँग पहल गरेकाले छिट्टै खानेपानीको समस्या हल हुने शुक्लाफाँटा नगरपालिका ८ का वडा अध्यक्ष बहादुर महरा बताउँछन् । 

जलस्रोतमा धनी मानिएको देशमा खानेपानीको समस्या हुनु उचित व्यवस्थापनको अभाव नै हो ।

यस्ता अति जरुरी विषयमा स्थानीय सरकार अलि बढी संवेदनशील हुनैपर्छ ।