Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन


0
Shares

काभ्रेपलान्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

काभे्रपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरिन् ।

उनी विहान ९ः३५ बजे भगवती मन्दिर पुगेकी थिइन् । राष्ट्रपति भएपछि उनले यस मन्दिरमा पूजाअर्चना गरेको यो दोस्रोपटक हो ।

उनीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी थिए ।

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए ।

सो अवसरमा मन्दिर व्यबस्थापन समितिका अध्यक्षसमेत रहेका  प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराए ।

राष्ट्रपति भण्डारीले ‘यस विषयमा म सरकारसँग कुरा गर्छु’ भनिन् । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । रासस