
काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त भएका छन् ।
अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानोको पक्षमा दुई मत बढी परेपछि उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।
अब उनी आजीवन यो पदमा रहने छन् । अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानोको मनोनयन अनुमोदनको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो ।
क्याभानोमाथि विभिन्न महिलाले यौन हिंसाको आरोप लगाएपछि उनको नियुक्तिको विषयमा अमेरिकी समाज विभाजित भएको थियो ।
किशोरावस्थामा भएको भनिएको यौन हिंसाका बारेमा महिलाहरुले बोलेपछि सिनेटको न्यायिक समितिले दुवै पक्षसँग घटनाबारे जानकारी लिएको थियो ।
अन्तिम समयमा आएर संघीय जाँच आयोगले समेत घटनाको छानबिन गरेको थियो ।
संघीय जाँच आयोगले गरेको अनुसन्धानका क्रममा क्याभानो दोषी नदेखिएपछि नियुक्तिको प्रक्रियालाई मतदानमा लगिएको थियो ।
मतदानमा केही डेमोक्र्याटिकसहित पहिले विपक्षमा उभिएका महत्वपूर्ण रिपब्लिकन सिनेटरले पनि पक्षमा उभिने निर्णय गरेपछि उनलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको हो ।
यसलाई राष्ट्रपति ट्रम्पको राजनीतिक जितका रुपमा लिइएको छ ।
उनले प्रस्ताव गरेका काभानोगको नाम सिनेटले अनुमोदन नगरेको भए ट्रम्पलाई ठूलो राजनीतिक झड्का लाग्ने थियो ।
काभानोगको नियुक्ति अनुमोदन भएसँगै अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको पकड बलियो भएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्