काठमाडौं । त्रेतायुगमा भगवान राम र माता सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा मनाइने साताव्यापी विवाह पञ्चमी महामहोत्सवको तयारीस्वरूप अयोध्याधाममा तिलकोत्सव समारोह सम्पन्न भएको छ ।
आईतवार भारतको उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्याधाममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहसहित पुगेको टोली र अयोध्याका मेयर महन्त गिरिशपति त्रिपाठी तथा राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका राजेन्द्र सिंह पंकजको उपस्थितिमा तिलकोत्सव समारोह सम्पन्न भएको हो । सीताको माइती जनकपुरधामबाट तिलकोत्सवको कोसेलीसहित विवाह पञ्चमी महोत्सवको निमन्त्रणा पनि अयोध्या पुर्याइएको छ ।
समारोहमा नगरप्रमुख साहले जनकपुरधाममा आयोजना हुने साताव्यापी विवाह पञ्चमी महामहोत्सवमा सहभागी हुन अयोध्यावासीलाई निमन्त्रणा दिनुभयो । भगवान् राम र माता सीताको विवाहले त्रेतायुगदेखि नै नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध कायम गरेको उल्लेख गर्दै उहाँले यस सम्बन्धलाई थप प्रगाढ बनाउन महोत्सवमा सहभागी हुन आग्रह गर्नुभयो ।
यस्तै, अयोध्याका मेयर महन्त गिरिशपति त्रिपाठीले पूर्खाहरूले शुरु गरेको परम्परालाई निरन्तरता दिँदै रामसीताको विवाहको स्मरणमा मनाइने विवाह पञ्चमी महोत्सवलाई भव्य रूपमा मनाइने बताउनुभयो । उहाँले जनकपुरधामबाट प्राप्त निमन्त्रणा स्वीकार गर्दै अयोध्याबाट जन्तीका रूपमा सहभागी हुन आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तिलकोत्सव समारोहमा सहभागी हुन जनकपुरधामबाट जानकी मन्दिर, विश्व हिन्दू परिषद् नेपालका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोली अयोध्या पुगेको थियो । रामजानकी विवाहको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ । यस अवसरमा अयोध्याबाट साधुसन्त तथा श्रद्धालुसहितको जन्ती जनकपुरधाम आउने धार्मिक परम्परा रहिआएको छ ।






प्रतिक्रिया दिनुहोस्