जितेन्द्र भण्डारी, पाँचथर। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको राँके–रवि–भेडेटार सडक कालोपत्रेको काममा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधिले निर्माण कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई दबाब दिएका छन् ।
पाँचथरको राँकेदेखि धनकुटाको भेडेटारसम्मको करिब १०० किलोमिटर सडकको स्थलगत अनुगमन गर्दै जनप्रतिनिधिहरूले निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरेका हुन् ।
पाँचथरका फाल्गुनन्द र मिक्लाजुङ, इलामका माङसेबुङ र फाकफोकथुम तथा धनकुटाका साँगुरीगढी र चौबिसे गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले संयुक्त रूपमा सडकको अनुगमन गरेका थिए । अनुगमनमा आयोजना कार्यालयका इन्जिनियर र निर्माण कम्पनीका प्रतिनिधिहरू पनि सहभागी थिए ।
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष ब्रिज हाङ आङ्देम्बेका अनुसार ठेक्का लागेको आठ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण सम्पन्न हुने समयसमेत निश्चित नभएपछि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले स्थलगत अनुगमन गरी निर्माण व्यवसायीलाई काममा गति बढाउन दबाब दिएका हुन् ।
निर्माणको जिम्मा लिएको कम्पनीले अब कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ ।
भारतीय लगानीमा भारतीय निर्माण कम्पनीले निर्माण गरिरहेको यस सडकको ठेक्काको म्याद सात पटक थपिसकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा पाँचथरको रवि बजारमा सडक कालोपत्रे गर्ने कामको शिलान्यास गर्नुभएको थियो ।
भारतसँगको ऋण सम्झौताअन्तर्गत अघि बढाइएको यस आयोजनाको निर्माणका लागि १९ नोभेम्बर २०१८ मा भारतीय ठेकेदार कम्पनी एफको इन्फ्रा टेक प्रालिसँग सम्झौता भएको थियो । ३ करोड २६ लाख १८ हजार ५४१ अमेरिकी डलर लागतमा भएको सम्झौताअनुसार ३६ महिनाभित्र अर्थात् २ डिसेम्बर २०२२ सम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
तर, पटक–पटक म्याद थप्दा पनि सडक कालोपत्रेको काम अझै पूरा हुन सकेको छैन ।






प्रतिक्रिया दिनुहोस्