काठमाडौं । नेपाली काँग्रेसले पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम र चिन्हको दुरुपयोग गर्न विरुद्ध कानूनी उपचार गर्ने बताउनुभएको हो । पार्टीको नाम, लेटरप्याड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय काँग्रेसको केन्द्रिय समितिले गरेको उहाँले जानकारी दिनुभयो ।
काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिक नाम, लेटरप्याड, ब्यानर, झण्डा, छाप तथा चुनाव चिह्न रुखको दुरुपयोग गरिरहेको उहाँको आरोप छ । उहाँले केही व्यक्ति तथा समूहले पार्टीको महाधिवेशनका नाममा गरेका गतिविधिले पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको बताउनुभयो ।
काँग्रेसको असोजमा भएको १५ औँ नियमित महाधिवेशनले निर्वाचित गरेको गगनकुमार थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रिय कार्यसमिति नै वैधानिक रहेकोले भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोगलगायत सम्बन्धित अधिकारप्राप्त निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केही व्यक्ति तथा समूहले नेपाली काँग्रेसको नाम, लेटरप्याड, ब्यानर, पार्टी झन्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोप्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा नेपाली काँग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ । अतः नेपाली काँग्रेसको नाम, लेटरप्याड, झन्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न, नगराउन तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न केन्द्रिय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ। साथै यस्तो भ्रमपूर्ण कार्यमा विश्वास नगर्न, त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा हार्दिक अपिल गर्दछौँ । यस आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढङ्गले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुन बमोजिम आवश्यक कारबाही एवं कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।’
उहाँले केन्द्रिय समितिको बैठकले ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित भएको जानकारी दिनुभयो । काँग्रेसका कार्यक्रम लामो हुने, धेरै व्यक्तिलाई आसन ग्रहण गराउने र वक्ताको संख्या अत्यधिक हुने गरेकोले त्यसलाई व्यवस्थित गर्न कार्यविधि ल्याएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्