काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताउनुभएको छ ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा मन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना रहेको बताउनुभयो । निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकसँगै सरकारी क्षेत्रका सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई पनि सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो ।
उहाँकाअनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आवद्ध गराउने आधार तयार गरिएको छ । त्यसैगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन स्थानीय तहको सहयोगदानसहितको सहभागितालाई प्रोत्साहन गर्ने र श्रमिकका लागि हाल एक प्रतिशतले हुने रकम बराबरको सहयोगदान संघीय सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्री वादीको भनाइ छ । सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्ने आधार तयार गरेको उहाँले बताउनुभयो ।
मन्त्री वादीले भन्नुभयो,‘निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रयाससँगै सरकारले आफ्नै मातहतमा कार्यरत तर सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समेट्ने निर्णय गरेको छ । क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सरकारको सोचअनुरूप चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शिर्षकमा विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट हाल संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक नीतिगत आधार तयार गरिएको छ । त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत राज्यको अपनत्वसहित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने उद्देश्यले राज्यले उपलब्ध गराउनुपर्ने सहयोगदानमध्ये स्थानीय तहबाट समेत सहयोगदान हुनेगरी श्रमिकका लागि हाल १ प्रतिशतले हुन आउने रकम बराबरको सहयोगदान संघीय सरकारले जम्मा गरिदिने आधार तयार गरिएको छ । सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने हाम्रो सोच केवल नीतिगत अभिव्यक्ति मात्र होइन । सामाजिक सुरक्षा सबैका लागि हो भन्ने मान्यतालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास भइरहेको छ । यसैअन्तर्गत राज्यको नेतृत्व तहबाट सामाजिक सुरक्षाप्रतिको अपनत्व र प्रतिवद्धता अभिव्यक्त गर्न सम्माननीय प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी, सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्ने महत्त्वपूर्ण आधार तयार गरेको छ । नेपाल सरकारको कार्यविभाजन नियमावलीअनुसार विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्दै एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकास गर्न सरकार क्रियाशील रहेको छ ।’
विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्न एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकासमा सरकार क्रियाशील रहेको बताउँदै मन्त्री वादीले सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिवद्धताबाट निर्माण भएको नागरिकको भविष्यसँग जोडिएको साझा भरोसाको पुँजीका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी व्यवस्थापन, योगदानको उचित परिचालन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार गम्भीर रहेको उहाँको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्