Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


जेन–जी आन्दोलनका घाइते र शहीद परिवारको एकीकृत राहत प्याकेज कार्यान्वयनमा तिब्रता दिइएको छः सरकार


0
Shares

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तिब्रता दिइएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार एकीकृत प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठकले कार्यान्वयनमा गएका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सबै मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेको समेत गरेको छ ।

उहाँले जेन–जी शहीद परिवार र घाइतेका मागहरु सम्बोधन गर्न सरकारले नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदामाथि गृहकार्य गरिरहेको बताउनुभयो । उक्त मस्यौदा परामर्शका लागि अर्थ, गृह र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ र कानून मन्त्रालयबाट राय प्राप्त भइसकेको उल्लेख गर्दै उहाँले गृह मन्त्रालयको राय प्राप्त भएपछि आवश्यक परिमार्जन गरी पुनः कानून मन्त्रालयमा पठाइने बताउनुभयो ।

प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको व्यवस्थापन परीक्षण शुरु गरिएको समेत जानकारी दिनुभयो । व्यवस्थापन परीक्षणमार्फत सरकारी निकायबाट सम्पादन हुने काम कानूनअनुसार भए–नभएको मूल्याङ्कनको कार्य भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘गत वर्ष नेपाल सरकार र जेनजी अधिकार आन्दोलनकर्मीहरूसँग भएको सम्झौता तथा जेनजी जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरुको पुनःस्थापना र जीपनयापन तथा सामाजिक संरक्षणसम्बन्धी सरकारले स्वीकृत गरेको एकीकृत प्याकेजलाई कार्यान्वयन गर्ने सन्दर्भमा समन्वय समिति गठन गरिएको थियो । उक्त समितिको पछिल्लो बैठक ८ मंसिरमा सम्पन्न भएको छ । जेनजी आन्दोलनसम्बन्धी एकीकृत प्याकेजलाई कार्यान्वयन गर्ने विषयमा उक्त विषयमा छलफल भएको छ ।
कार्यान्वयनमा गएका विषयलाई निरन्तरता दिने र कार्यान्वयन हुन बाँकी रहेका कुराहरूलाई आगामी दिनमा सबै मन्त्रालयको समन्वयमा कार्यान्वयन गर्ने निर्णय र्भको छ । अहिले नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदा तयार भएर परामर्शको लागि अर्थ, गृह र कानून मन्त्रालयमा पठाएका थियौँ । अर्थ र कानून मन्त्रालयबाट हामीले राय प्राप्त गरिसकेका छौँ । गृह मन्त्रालयबाट समेत राय आइसकेपछि थप परिमार्जनसहित रायका लागि कानून मन्त्रालयमा पठाउँछौँ ।’

उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार बिहानसम्म १८ अर्ब ६२ करोड ८ लाख ११ हजार ७ सय ४२ रुपैयाँ जम्मा भएको समेत जानकारी गराउनुभयो ।