Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


आज पनि निर्वाचन धनबल, बाहुबल र मिडियाको प्रभावमा हुन्छः पद्मा अर्याल


0
Shares

काठमाडौं । नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार ललितपुरमा निर्वाचन आयोगको सरोकारवालाहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । आफूले निर्वाचन लड्दासमेत बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै उहाँले त्यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी गर्नुभयो ।

अर्यालले निर्वाचन प्रणाली सुधारका लागि पहिले विद्यमान विकृति र समस्या पहिचान गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँ रहे पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उहाँले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था गर्दा व्यावहारिक कठिनाइलाई समेत सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थामा हाम्रा नागरिकहरु जहाँसुकै भएपनि मताधिकारबाट वञ्चित हुनु हुँदैन । आफूले रोजेको प्रतिनिधिलाई प्रतिनिधिलाई मतदान गर्ने कुराको सुनिश्चितता गर्नुपर्छ । निर्वाचन आयोग त्यसको सुनिश्चिततातर्फ गएको कुरामा हाम्रो प्रशंसा छ । कहाँ साथ र सहयोग गर्नुपर्छ हामी तयार छौँ । अन्तरदेशीय र अन्तरजिल्ला निर्वाचनमा भावनाका कुराले हुँदैन, कतिपय व्यवहारिक कठिनाइहरु पनि छन् । यो बेलैमा हामीले समस्या पहिचान गरेको खण्डमा समाधानतर्फ हामी जान्छौँ, समस्या पहिचान गर्न सकेनौँ भने समाधान हुँदैन । काठमाडौंमा बसेको कर्णालीको मान्छेले काठमाडौंबाट मतदान गर्न र ७७ जिल्लामै गर्दा काठमाडौंका प्रत्येक निर्वाचन केन्द्रमा ७७ वटा मतपेटिका रहनुपर्छ । पालिकालाई पनि गर्ने व्यवस्था गर्ने हो भने कति हो कति । हाम्रो निर्वाचन क्लिन छैन । म चुनाव लड्दा मैले के भोगिनँ । एक सयमा ९९ प्रतिशत भोट आजसम्म खसेकै छैन । मेरो निर्वाचन क्षेत्रमा खस्यो । उपचार त भएन । मसँग छन्, तथ्यसहितका प्रमाण । यहाँ यहाँ बुथ कब्जा भयो, यहाँ धाँदली भयो, यसरी भोट हालियो भन्ने छ । आज पनि निर्वाचन मनीले, मसलले हुन्छ, मिडियाले प्रभावित हुन्छ ।’

उहाँले लोकतान्त्रिक व्यवस्थामा नागरिकहरु जहाँसुकै भएपनि मतदान गर्न पाउनुपर्ने बताउनुभयो । अन्तरदेशीय र अन्तरजिल्लाको निर्वाचन गर्न केही कानूनी कठिनाइ हुनसक्ने भन्दै आयोगलाई सचेत गराउनुभयो ।