Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना


0
Shares

काठमाडौं । सरकारले हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरुको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिनुभयो ।

परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ । सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताउनुभयो । उहाँकाअनुसार परियोजनाले हिमतालको पानीको सतह घटाउने, निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ । प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय हिमालयको क्रायोस्फियर तिब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब हिमतालको जोखिम न्यूनीकरणमा सरकारले तत्कालै काम गर्न आवश्यक छ ।

उहाँले भन्नुभयो, ‘यो हिमालयन क्रायोस्फियर अत्याधिक र्‍यापिड्ली चेञ्ज भइरहेको छ । यसले हामीलाई च्यालेञ्जहरू थपेको छ । हरेक वर्ष हाम्रो हिमालयको ग्लेसियर लेक्स भनौँ या स्नो एभलान्चेज भनौँ हिउँपहिरोहरूको घटनाहरूमा वृद्धि भइरहेको छ, त्यसैले हामीले रेस्पोन्स पनि अब ढिला गतिमा गरेर हुँदैन । यो रेस्पोन्स पनि अति चाँडो गतिमा गर्नुपर्ने हुन्छ । किनभने २००० मा एउटा हिमतालको जोखिम न्यूनीकरण गर्ने, १६ वर्ष पछाडि अर्को गर्ने, अनि ३० वर्ष पछाडि अर्को गरेर चाहीँ हुँदैन । हामीले ओभरल हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ । अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत फास्टर रेटमा यो रिट्रिट भइरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । नेपालको हामीले ठुलागी लेकलाई मात्रै हेर्ने हो भने पनि ३० मिटर्स पर इयरको दरले ग्लेसियर रिट्रिट भइरहेको छ । अन्य ग्लेसियर्स लेक्सहरूमा पनि लेकको साइज बढ्ने र ग्लेसियर्सहरू रिट्रिट हुने गरिरहेको छ । यो नेपाल र हिन्दुकुश हिमालयको रिजनमा मात्र नभइकन ग्लोबल्ली पनि युरोपियन ग्लेसियर्सहरूमा पनि देखिएको छ । यो समग्र जलवायु परिवर्तनको कारण भएको हो ।’

उहाँकाअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ । मनाङको ठुलागी हिमनदी मात्रै प्रतिवर्ष करिव ३० मिटर पछाडि हटिरहेको उहाँको भनाई छ । सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रश्तुत गर्दै उहाँले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताउनुभयो ।

पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन् । नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उहाँले जानकारी दिनुभयो । सन् २०१६ को भोटेकोशी हिमताल विस्फोटको उदाहरण दिँदै उहाँले करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा करिव ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पुर्‍याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन् । तीमध्ये ४२ वटा कोशी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोशी बेसिनमा छन् । ठूलो आकारका हिमताल विस्फोट भएमा त्यसले निम्त्याउन सक्ने क्षति सोचेभन्दा भयानक हुने उहाँको भनाई छ । सोही कारण विपद् हुनुअगाडी नै हिमताल जोखिम न्युनिकरण गर्नको लागि सरकारले ‘सञ्जीवनी’ परियोजना अगाडी बढाएको उहाँले बताउनुभयो ।

परियोजनाका लागि ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहवित्तीय योगदान १३.७८ मिलियन अमेरिकी डलर रहनेछ । यसरी परियोजनाको कुल लागत करिब ५० मिलियन अमेरिकी डलर रहेको उहाँले जानकारी दिनुभयो । परियोजनाको अवधि सात वर्षको रहेको छ ।

हिमाली क्षेत्रमा काम गर्न अनुकूल मौसमको समय सिमित हुने र भौगोलिक तथा प्राविधिक चुनौती रहने भएकाले कार्यान्वयन अवधि लामो राखिएको उहाँले बताउनुभयो । परियोजनाले करिब २४ चार लाख मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ पुर्‍याउने उहाँको भनाई छ । परियोजनाको सातवर्षे अवधि सकिएपछि थप सात वर्षसम्म सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारले लिनेछ ।

उहाँले भन्नुभयो, ‘हामीले लामो समय सन् २००० मा छोरोल्पा र २०१६ मा झण्डै १६ वर्षको डिफरेन्समा इमजालाई अलिकति जोखिमको न्यूनीकरण गर्‍यौँ र हामीले पछिल्लो चरणमा यो चार वटा तालहरूको जोखिम न्यूनीकरण र त्यसको पूर्वतयारी लगायतका कार्यहरू गर्नको लागि जिसीएफ ग्रिन क्लाइमेट फण्डको ग्रान्ट र नेपाल सरकारको लगानीमा परियोजना सञ्चालन गर्न लागेका छौँ । ३६.१६ मिलियन डलर हामीले ग्रान्ट जिसिएफ ग्रान्टको रूपमा प्राप्त गरेका छौँ, त्यसदेखि बाहेक नेपाल सरकारको को–फाइनान्सिङ र युएनडिपीको पनि केही को–फाइनान्सिङ गरेर १३.७८ मिलियन डलर गरेर लगभग ५० मिलियन डलरको यो प्रोजेक्ट डिजाइन गरेका छौँ । यसको ओभरल अवधि ७ वर्ष राखिएको छ । यो ७ वर्ष पछाडिको थप ७ वर्षको अपरेसनल मेन्टेनेन्सको जिम्मा नेपाल सरकारले गर्नेछ ।’

जलवायु परिवर्तनको प्रभाव हिमताल विस्फोटका साथै कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य र जलस्रोतमा समेत देखिन थालेको उहाँको भनाई छ । तराईमा खडेरी र बाढीका घटना, हिमाली क्षेत्रमा हिउँपहिरो तथा हिमतालजन्य विपद् र खराब मौसमका कारण पर्यटन गतिविधिमा समेत असर परेको उहाँले बताउनुभयो ।

नेपालको कमजोर भूगर्भीय संरचना, भूकम्पीय गतिविधि, नदी करिडोरमा बढ्दो आर्थिक गतिविधि तथा जोखिमसम्बन्धी सूचनाको अभावले विपद्को जोखिम थप बढाएको उहाँको भनाई छ ।

स्थानीय र प्रदेश सरकारलाई निर्णय प्रक्रियामा सहभागी गराउन माग

कोशी प्रदेश सरकारका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजनामा प्रदेश र स्थानीय सरकारलाई पनि सहभागी गराउनुपर्ने बताउनुभयो । परियोजनाले कोशी बेसिनलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै आफूहरु पनि विपद् न्युनिकरणमा संघीय सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

जलवायु जोखिमसँग प्रत्यक्ष जोडिएका विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायसँगको समन्वयमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । उहाँले प्रदेश सरकारले पहिचान गरेका जलवायु परिवर्तन, विपद् तथा हिमताल विस्फोटसम्बन्धी १० वटा प्राथमिकताका कार्यक्रमलाई पनि परियोजनामा समेट्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रोजेक्टको प्राथमिकतामा कोशी बेसिनलाई राखेकामा कोशी प्रदेश सरकार असाध्यै खुशी प्रकट गर्दछ । कोशी प्रदेश सरकार यसमा हातेमालो गर्न तयार छ । यससँगसँगै प्रदेश सरकारका केही कन्सर्नहरू छन्, प्रदेश सरकारका केही एक्सपेक्टेसनहरू पनि छन् । क्लाइमेट रिस्क एसोसिएट भएका सबै डिजास्टरहरू र सबै पोस्ट–डिजास्टर रेस्पोन्सहरूमा प्रदेश र स्थानिय तह जोडिँदै आएका छन् । नजिकको सरकारसँग क्लाइमेट रिस्कसँग सम्बन्धित सबै विपद् र विपद्पछिको प्रतिकार्य जोडिएको हुन्छ । त्यसैले स्थानीय र प्रदेश सरकारलाई पनि यो परियोजनाले भिजिबल रूपमा समेट्नुपर्छ । प्रदेश सरकारको नीतिगत तहमा हामीले केही आइडेन्टिफाई गरेका छौँ, त्यसलाई पनि समावेश गर्नुपर्छ ।’

उहाँले विपद् न्युनिकरण लागी उपलब्ध बजेट स्थानीय तहसम्म पुर्‍याएर प्रभावकारी रूपमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो । कतिपय खरिद प्रक्रियासँग सम्बन्धित नीतिगत अवरोधले खर्च गर्न समस्या भईरहेको उहाँको भनाई छ ।

जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्न सक्छः सिंह

जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले नेपालमा हिमताल विस्फोटको जोखिम न्युनिकरणको गति बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार हालको कार्यशैली र लगानीको गति कायम रहेमा बाँकी जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्नसक्छ । चार वटा हिमताल व्यवस्थापन गर्न १० वर्ष लगाएर नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘चारवटा हिमताल व्यवस्थापन गर्न अहिले सातदेखि १० वर्षको समय लाग्ने हो भने बाँकी १५ वटा व्यवस्थापन गर्न कम्तीमा ३०–४० वर्ष लाग्न सक्छ । त्यसैले सबै विकास साझेदार मिलेर आगामी सातदेखि १० वर्षभित्र जोखिमयुक्त हिमताल व्यवस्थापनको काम सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ ।’

उहाँले जलवायुजन्य विपद् व्यवस्थापनमा जलविद्युत विकासकर्तालाई समेत सहभागी गराउनुपर्ने बताउनुभयो । नदी करिडोरमा रहेका जलविद्युत आयोजनासँग निगरानी केन्द्र, सञ्चार प्रणाली र प्रभावित समुदायसम्बन्धी तथ्यांक रहेकाले ती स्रोतलाई पूर्वसूचना प्रणालीमा उपयोग गर्न सकिने उहाँको भनाइ थियो ।

जलविद्युत कम्पनीसँग सहकार्य गरेर नदी करिडोरमा निगरानी केन्द्र विस्तार गर्ने तथा प्रभावित समुदायसम्म सूचना पुर्‍याउने संयन्त्र विकास गर्न सकिने उहाँको सुझाव छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई जलस्रोत, विपद् तथा जलवायु उत्थानशीलतासम्बन्धी उत्कृष्टता केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

परियोजनाको चारवटा हिमतालको जोखिम घटाउनुमा मात्र सिमित हुनु हुँदैनः डा. फकरुद्दिन

ग्रीन क्लाइमेट फण्ड सचिवालयका प्रतिनिधि डा. वाफोन फकरुद्दिनले परियोजना चारवटा हिमतालको जोखिम घटाउनमा मात्रै सिमित हुन नहुने बताउनुभयो । नेपालमा पहिचान भएका अन्य २१ जोखिमयुक्त हिमतालमध्ये हाल परियोजनाले नसमेटेका १७ वटा क्षेत्रमा पनि लगानी विस्तार गर्ने आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि वैज्ञानिक अध्ययन, प्रमाणमा आधारित योजना, विकास वित्तीय संस्थासँगको साझेदारी र थप वित्तीय स्रोत परिचालन आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले जलवायु वित्त परिचालनका लागि राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय मञ्च निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय वित्तीय सहयोग, सरकारी बजेट विनियोजन र स्थानीय जोखिममा रहेका समुदायसम्म स्रोत पुर्‍याउने प्रणाली विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले हिमनदी तथा हिमतालजन्य विपद् व्यवस्थापनमा नेपालले भोगेका अनुभवलाई क्षेत्रीय स्तरमा आदानप्रदान गर्नुपर्नेमा पनि जोड दिनुभयो । हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसँगै छिमेकी मुलुक पनि समान प्रकृतिका जोखिममा रहेकाले सीमापार सहकार्य आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले चारवटा जलाधार क्षेत्रमा मात्र सहयोग गरिरहेका छौँ । तर थप २१ वटा हिमताल तथा हिमनदीजन्य क्षेत्रहरू उच्च जोखिममा रहेका छन् । त्यसैले ती क्षेत्रहरूलाई पनि कसरी सहयोग गर्न सकिन्छ र त्यहाँ विद्यमान जोखिमलाई कसरी बुझ्न तथा मूल्याङ्कन गर्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न आवश्यक छ । यसका लागि विगतका अनुभवबाट प्राप्त वैज्ञानिक ज्ञान र प्रमाणहरूलाई परियोजनामा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । विज्ञान र प्रविधिको प्रयोगमार्फत अन्य दातृ निकाय तथा वित्तीय साझेदारहरूलाई पनि यस अभियानमा लगानी गर्न आकर्षित गर्न सकिन्छ । यस परियोजनाले अन्य वित्तीय साझेदारहरू तथा विकास वित्तीय संस्थाहरूलाई समेत आकर्षित गर्ने उत्प्रेरक भूमिका खेलोस् । हाल समेटिएका चारवटा क्षेत्रबाहेक बाँकी १७ वटा जोखिमयुक्त क्षेत्रहरूमा पनि सहयोग विस्तार गर्न सकियोस् ।’

उहाँले परियोजनाबाट प्राप्त अनुभवलाई मध्य एशिया, ल्याटिन अमेरिका र अन्य हिमनदीजन्य जोखिम भएका क्षेत्रमा समेत विस्तार गर्न सकिने बताउनुभयो । परियोजनालाई तत्काल कार्यान्वयनमा लैजान जोड दिनुभयो । परियोजनाको पहिलो किस्ताको रकम यूएनडीपीमा निकासा भइसकेको उहाँले जानकारी दिनुभयो ।