Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सबैभन्दा बढी चिन्ता शेरबहादुर देउवाको लाग्छः गगन थापा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूलाई सबैभन्दा बढी चिन्ता पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको लाग्ने गरेको बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातान्त्रिक आन्दोलनमा देउवाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले विशेष महाविधेशन पछि आफूलाई केहि व्यक्तिहरुले विभिन्न आलोचना गर्ने गरेपनि आफूलाई कुनै चिन्ता नरहेको बताउनुभयो । तर पूर्वसभापति देउवाले सार्वजनिक मञ्चबाट व्यक्त गर्ने अभिव्यक्तिप्रति भने आफू चिन्तित रहेको उहाँको भनाई छ ।

उहाँले विशेष महाधिवेशन पार्टीको विधि र विधानअनुसार गरिएको दाबी गर्दै त्यसबारे असहमति राख्न पाइने भएपनि असहमति राजनीतिक र मर्यादित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही केही पार्टीभित्र जोकरहरू छन् । केही केही नमुनाहरू छन् । ती जोकर नमुनाहरू हामीले चिनेकै साथीहरू हुन् । ती साथीभाइको आइडेन्टिटी त्यसैले बनेको छ । ती साथीभाइको घरधन्दा त्यसले चलेको छ । मेरो निन्दा गरेर कसैको घरधन्दा चलेको छ, कसैको पोलिटिकल आइडेन्टिटी बनेको छ, भइरहेको छ भने हुन् गर्न दिउँ । त्यो पनि साथीभाइ नै हुन्, छोड्देउ । अलिअलि जोकरहरू अलिअलि नमुनाहरू जता ततै हुन्छन् । त्यसका बारेमा धेरै चिन्ता नगरौँ । मेरो चिन्ता आजको दिनमा कसको हो भन्दाखेरि मेरो निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवाको चिन्ता हो । शेरबहादुर देउवा नेपाली काँग्रेस पार्टीका निवर्तमान सभापति मात्र होइन, नेपालको एउटा हस्ती हुनुहुन्छ, नेपालको यत्रो लामो प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान छ, उहाँका कति कुराहरूसँग हाम्रा सहमति होलान्, असहमति होलान्, हिजो थिए आज पनि छन्, भोलि पनि रहलान्, तर ती राजनीतिक हुन् । त्यसैले म आदरणीय नेता शेरबहादुर देउवालाई जीवनको यो मोडमा सम्मानका साथ सम्बोधन गरेर आग्रह गर्न चाहन्छु, तपाईँ अहिले पनि हाम्रो नेता हो, तपाईँ हाम्रो अभिभावक हो, तपाईँको सभापतित्वमा बसेर हामीले काम गरेको हो । म तपाईँसँग दलको नेता लडेको हो, किनकि म त तपाईँ त्यो बेलामा पनि प्रधानमन्त्री हुनुहुन्न भन्ने मान्छे हुँ नि त, त्यसैले तपाईँसँग असहमति राखेको कुरामा के के ठूलो कुरा भयो र ? म तपाईँ पार्टी सभापति हुनुहुन्न भनेर तपाईँसँग त्यो बेलामा पनि लडेको हो । तर तपाईँ पार्टी सभापति भयो कुरालाई मानेर बसेको हो नि । एउटा विशिष्ट अवस्था आयो, जुन अवस्थामा हामीहरूले पार्टीको विधि–विधानअनुसार पार्टीको विशेष महाधिवेशन गर्यौँ । पार्टीको विशेष महाधिवेशनमाथि प्रश्न उठाउनुस् मेरो भन्नु केही छैन, किनकि त्यसभित्र तपाईँले प्रश्न गर्ने ठाउँहरू होलान्, अवश्य तपाईँका असन्तुष्टि होलान्, तर त्यो राजनीतिक हुनुपर्छ । नमुनाहरूले के भने, जोकरहरूले के भने भन्ने कुरासँग सरोकार छैन । तर त्यो नमुनाहरूले जोकरहरूले बोलेको जस्तै शेरबहादुर देउवाले बोल्न थाल्नुभयो भने त मलाई चिन्ता लाग्ने हो नि त, मेरो नेता हो नि त, सभापति हो नि । त्यसकारणले गर्दा मैले तपाईँलाई सम्झाउने हो । तपाईंको एउटा हिजोको दिनमा कार्यकर्ता भएर काम गरेको, तपाईँ हुनुभएको पार्टीमा बसीसँगै काम गरेको, एउटा पार्टीको साथी भएर पनि तपाईँलाई सम्झाउने हो । पार्टीको त्यो उमेरको नेता, त्यो कदको नेता, राजनीतिमै बानी राजनीतिक हुनुपर्छ, बोली राजनीतिक हुनुपर्छ, असहमति पनि राजनीतिक हुनुपर्छ । त्यसलाई एउटा सीमाभित्र राख्नुपर्छ, त्यसलाई एउटा मर्यादाभित्र राख्नुपर्छ ।’

उहाँले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न आफू सधैँ खुला रहेको पनि बताउनुभयो । असन्तुष्ट नेताहरूसँग छलफल र संवाद गर्न आफूहरू सधैँ तयार रहेको उहाँको भनाई छ ।