Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


दुर्गम क्षेत्रमा अनलाइन प्रणालीको विकल्प र जरिवानाविरुद्ध पुनरावलोकनको व्यवस्था गर्न सांसद बुढाको माग


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले दुर्गम तथा ग्रामीण क्षेत्रमा इन्टरनेट र टेलिफोनको पहुँच नहुँदा व्यावसायिक मालवस्तु अनलाइन प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था कार्यान्वयनमा कठिनाइ हुने भन्दै अफलाइन विकल्पसमेत राख्न माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा सांसद बुढाले यस्तो माग गर्नुभएको हो । विधेयकको दफा २ मा व्यावसायिक मालवस्तु अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था प्रश्ताव गरिएको उल्लेख गर्दै उहाँले नेपालका कतिपय दुर्गम तथा ग्रामीण क्षेत्रमा अझै टेलिफोन र इन्टरनेटको पहुँच नरहेको बताउनुभयो ।

सबै ठाउँमा अनलाइन प्रणाली अनिवार्य गर्दा त्यस्ता क्षेत्रका व्यवसायी तथा सेवाग्राहीलाई समस्या हुने भन्दै उहाँले इन्टरनेटको पहुँच नभएका स्थानमा अफलाइन प्रणालीबाट पनि विवरण प्रविष्ट गर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । विधेयकमा जरिवाना निर्धारण गर्ने सम्पूर्ण अधिकार कर अधिकृतलाई दिने प्रस्तावप्रति पनि उहाँले प्रश्न उठाउनुभयो ।

कर अधिकृतले तोकेको जरिवानामा सेवाग्राही असन्तुष्ट हुनसक्ने भएकाले त्यसविरुद्ध पुनरावलोकन गर्न पाउने व्यवस्था विधेयकमै समेट्नुपर्ने उहाँको माग छ । बुढाले दुर्गम क्षेत्रमा अझै पनि घोडा, खच्चरलगायतका परम्परागत साधनबाट मालवस्तु ढुवानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस्ता ढुवानीका साधनलाई समेत कानुनी व्यवस्थाले समेट्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक तर्जुमा गर्दा राजस्व वृद्धि, करदाताको अधिकार, निजी क्षेत्रको लगानी, कर प्रशासनको पारदर्शिता र नागरिकको आर्थिक भारलाई ध्यान दिनुपर्छ । विधेयकको दफा २ मा व्यावसायिक मालवस्तु अनलाइन प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था छ। तर नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रमा अझै पनि टेलिफोन र इन्टरनेटको पहुँच नभएकाले अनलाइनसँगै अफलाइन प्रणालीको व्यवस्था पनि गरिनुपर्छ । त्यसैगरी, जरिवाना निर्धारण गर्ने सम्पूर्ण अधिकार कर अधिकृतलाई मात्र दिने व्यवस्था गर्दा सेवाग्राहीलाई चित्त नबुझेमा पुनरावलोकन गर्न पाउने व्यवस्था पनि हुनुपर्छ । साथै, दुर्गम क्षेत्रमा अझै पनि घोडा, खच्चडलगायतका साधनबाट मालवस्तु ढुवानी गर्नुपर्ने अवस्था रहेकाले त्यसको व्यावहारिकतालाई समेत विधेयकमा समेट्न अनुरोध गर्दछु ।’

राजश्व वृद्धि, करदाताको अधिकार, निजी क्षेत्रको लगानी, कर प्रशासनको पारदर्शिता र नागरिकको आर्थिक भारलाई ध्यानमा राखेर विधेयक निर्माण हुनुपर्नेमा जोड दिँदै उहाँले प्रश्तावित व्यवस्थालाई भौगोलिक अवस्थाअनुकूल बनाउन आग्रह गर्नुभयो ।