काठमाडौँ। विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित सरकारी निकाय र नेपाल टेलिकमको समन्वयमा सोमबार साँझ ५:३० बजेदेखि काठमाडौंका केही क्षेत्रमा परीक्षण गर्न लागेको हो।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षणका क्रममा २ जी (2G) मोबाइल नेटवर्क प्रयोग गरी तोकिएका क्षेत्रका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश पठाइने जनाएको छ।
मन्त्रालयका अनुसार मोबाइलमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) भन्ने व्यहोराको सन्देश प्राप्त हुनेछ। परीक्षण अवधिमा एउटै सन्देश एकभन्दा बढी पटक आउन सक्ने सम्भावनासमेत रहेको छ।
मोबाइलमा चेतावनीको आवाज वा सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन मन्त्रालयले आग्रह गरेको छ। उक्त सन्देश वास्तविक विपद्को सूचना नभई प्रणालीको प्राविधिक परीक्षण मात्र भएकाले कुनै प्रतिक्रिया जनाउन वा विशेष सावधानी अपनाउन आवश्यक नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
नेपालमै विकसित यस प्रविधिमार्फत बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका क्षेत्रमा तत्काल सूचना तथा सुरक्षासम्बन्धी निर्देशन पठाउन सकिनेछ।
सेल ब्रोडकास्ट प्रणाली सञ्चालनमा आएपछि विपद्को समयमा प्रभावित क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।






प्रतिक्रिया दिनुहोस्