काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
नेपाल एयरलाइन्सको नियमित उडानबाट उहाँ भारत प्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेललगायतले बिदाइ गर्नुभएको थयिो ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, विभिन्न सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत गएका छन्। यसबाहेक निजी क्षेत्रका ५२ व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन् ।
नयाँदिल्लीमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुनेछ । उहाँले बिहान राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुई नेताबीच करिब आधा घण्टा छुट्टै भेटवार्ता गर्ने तयारीसमेत छ ।






प्रतिक्रिया दिनुहोस्