काठमाडौं । विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय ज्येष्ठ नागरिकबाट पक्की पुल उद्घाटन गरिएको छ ।
मध्यनेपाल नगरपालिका–१ र २ जोड्ने खहरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुल स्थानीय ९५ वर्षीय गोरे सार्कीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । मध्यनेपाल नगरपालिका–१ का वडाध्यक्ष सुदीप थापाले परम्परागत शैलीभन्दा फरक अभ्यास गर्दै समाजका ज्येष्ठ नागरिक सार्कीलाई पुल उद्घाटनको सम्मान प्रदान गर्नुभएको हो ।
पुल उद्घाटनका विषयमा विभिन्न पक्षबाट राजनीतिक दबाब र धम्कीसमेत आएको वडाध्यक्ष थापाले बताउनु भएको छ । तर जनताको कर र पसिनाबाट निर्माण भएको संरचना जनताकै हातबाट उद्घाटन हुनुपर्ने अडानबाट आफू पछि नहटेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत करिव ३ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । मध्यनेपाल नगरपालिका–१ को जीताटारमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै वडा नम्बर १ र २ का बासिन्दालाई आवतजावतमा सहज भएको छ । यसअघि वर्षायाममा खहरे खोलामा आउने बाढीका कारण स्थानीयले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता थियो । पुल सञ्चालनमा आएपछि उक्त समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
राजनीतिक नेतृत्वबाट मात्रै विकास निर्माणका संरचना उद्घाटन गराउने प्रचलनबीच ज्येष्ठ नागरिकलाई दिइएको प्राथमिकतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । यसले सार्वजनिक संरचनामा नागरिकको अपनत्व र ज्येष्ठ नागरिकप्रतिको सम्मानको सन्देश दिएको छ ।









प्रतिक्रिया दिनुहोस्