काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ को जुन महिनामा ऐतिहासिक इंग्ल्याण्ड भ्रमण गर्ने भएको छ । भ्रमणका क्रममा नेपालले विश्वप्रसिद्ध लड्र्स मैदानमा टेस्ट राष्ट्र बङ्गलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ भने आयरल्याण्ड र स्कटल्याण्डसँग पनि आधिकारिक अन्तर्राष्ट्रिय खेलमा प्रतिष्पर्धा गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) ले बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र बङ्गलादेशबीचको खेल सन् २०२७ जुन ३ मा लड्र्समा हुनेछ । आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग लड्र्समा नेपालले खेल्न लागेको यो पहिलो खेल हो ।
समग्रमा भने लड्र्समा नेपालको यो दोस्रो पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ । यसअघि सन् २०१८ मा एमसीसी र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलामा नेपालले नेदरल्याण्ड्ससँग उक्त मैदानमा टी–२०आई खेलेको थियो । नेपाल र बङ्गलादेशबीचको खेलकै दिन लड्र्समा मिडलसेक्सको टी–२० ब्लास्ट खेलसमेत आयोजना हुनेछ । पुरुषतर्फ अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको डबल–हेडर लड्र्समा पहिलो पटक हुन लागेको एमसीसीले जनाएको छ ।
दुवै देशका दर्शकले प्रत्यक्ष प्रसारण हेर्न सक्ने गरी खेलको समय निर्धारण गरिने पनि जनाइएको छ । जुन १ देखि १२ सम्म हुने भ्रमणमा नेपालले स्कटल्याण्ड र आयरल्याण्डसँग पनि खेल्नेछ । भ्रमणका सबै खेल आईसीसीबाट मान्यता प्राप्त तथा इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) बाट स्वीकृत आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछन् ।
तालिकाअनुसार नेपालले जुन १ मा वम्स्र्लीमा स्कटल्याण्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ३ मा लड्र्समा बङ्गलादेशसँग टी–२०आई खेल्नेछ । जुन ६ मा आयरल्यान्डसँग वम्स्र्लीमा ५० ओभरको खेल हुनेछ भने जुन ९ मा सोही मैदानमा टी–२०आई खेल हुनेछ । त्यस्तै, जुन ११ र १२ मा बेकेनहमस्थित द काउन्टी ग्राउन्डमा आयरल्यान्डसँग थप दुई टी–२०आई खेल खेल्ने कार्यक्रम छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग लड्र्समा ऐतिहासिक खेल खेल्न पाउनु नेपाली क्रिकेटका लागि उत्साहजनक विषय भएको बताएका छन् । उनले भ्रमणका लागि सहकार्य गर्ने एमसीसी, ईसीबी, बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्याण्डप्रति आभार व्यक्त गरेका छन् ।
क्यानका सचिव पारस खड्काले लड्र्समा खेल्न पाउनु गौरव र सम्मानको विषय भएको उल्लेख गर्दै यस्तो भ्रमणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय अनुभव र विश्वव्यापी साझेदारी विस्तारमा सहयोग पुग्ने बताएका छन् । एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले पछिल्ला वर्षमा एमसीसी र क्यानबीचको सम्बन्ध थप प्रगाढ बनेको उल्लेख गर्दै नेपालमा क्रिकेटप्रतिको लगाव आफूहरूले प्रत्यक्ष अनुभव गरेको बताएका छन् ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष तमिम इकबालले पनि लड्र्समा बङ्गलादेशको पहिलो पुरुष टी–२०आई खेल ऐतिहासिक हुने र यसले दुवै देशका क्रिकेट समर्थकलाई जोड्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्