काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीप्रतिको धरमराउँदै गएको जनविश्वास पुनःआर्जन गर्न आत्मसमीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले पार्टीलाई शक्तिशाली र बलियो बनाउने विषय अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने बताउनुभएको हो । उहाँले अब अरुले के गरे भन्नेभन्दा पनि एमालेले आफूलाई कसरी सुधार्न सक्छ रु भन्ने प्रश्नमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीका कमजोरी स्वीकार गर्दै जनताको कुरा सुन्ने, जनतासँग छलफल गर्ने, पार्टीका धारणा स्पष्ट पार्ने र नयाँ सदस्यलाई पार्टीमा आबद्ध गराउने अभियानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अरुले केही गरेनन् भनेर हामी उम्किने खालको स्थिति बन्न हुँदैन । हामीले जनताको कुरा सुन्ने, जनतासँग बसेर छलफल गर्ने, जनतालाई हामीले प्रष्टसँग सम्झाउने र अनि हाम्रो पार्टीमा आबद्ध गर्ने काममा हामी अब लाग्नुपर्छ । हामीले प्रश्न ठड्याउने नाममा एउटै चिज सधैँभरि बोकिरहने, एउटै चिज सधैँभरि प्रश्न गरिरहने अनि हामी काममा नजाने कुराले पार्टीलाई बलियो बनाउन सकिँदैन । तसर्थ अब हामीले प्रश्न गर्ने मात्र होइन प्रश्नको जवाफ दिने पनि हामी हो भन्ने कुरालाई हेक्का राख्दै हामीले यो खालको जिम्मेवारी वहन गर्नुपर्छ ।’
उहाँले पार्टीका विभिन्न भूगोलबाट आएका नेता तथा कार्यकर्ताले जनमत कमजोर हुँदै गएको महशुस गरेको उल्लेख गर्दै त्यसका कारणबारे गम्भीर छलफल गरी समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले सरकारको पछिल्लो सात महिनाको गतिविधिले एमालेबाहेक अरुले देश बनाउन नसक्ने पुष्टी गरेको बताउनुभयो ।
देश निर्माण गर्ने शक्ति एमाले नै भएकोले आफ्नो पुरानो राजनीतिक पहिचान पुनःस्थापित गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय भेलाबाट फर्किँदा नेता तथा कार्यकर्ताले पार्टीका कमजोरीलाई छाडेर सशक्त भएर जानुपर्ने उहाँको भनाई छ ।
स्थानीय कमिटीमा देखिएको गतिरोध अन्त्य गर्ने, निष्क्रिय कार्यकर्तालाई सक्रिय बनाउने र जिम्मेवारी तथा दायित्व स्पष्ट गरी कार्यक्षेत्रमा फर्किनुपर्ने उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्