Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्छौंः मन्त्री लम्साल


0
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्ने बताउनुभएको छ ।

काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उहाँले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताउनुभएको हो । मन्त्री लम्सालले अब कुनैपनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार प्याकेज नम्बर ९ ए, ९ बी, ८ बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन ।
पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । काठमाडौंस्थित आयोजनाको प्रारम्भिक बिन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने र त्यसपछि रद्द गरिएका ठेक्काको बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने उहाँको भनाइ थियो ।

मन्त्री लम्सालले भन्न्भुयो, ‘केही ठेक्काहरू, जस्तै प्याकेज ९ए, ९बी, ८बी लगायतका केही प्याकेजहरूको कार्यसम्पादन राम्रो छैन । संशोधित कार्यतालिकाअनुसार पनि सन्तोषजनक कार्यसम्पादन गर्न नसकेका र आफैँले पेश गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ । हामी त्यस्ता ठेक्का रद्ध गर्नेछौँ ।’

उहाँले आयोजना थप लम्ब्याउन निर्माण व्यवसायीलाई थप सुविधा दिने बाटो नरहेको स्पष्ट पार्नुभयो । ‘अब यो आयोजनालाई थप लम्ब्याउनका लागि जोखिम मोल्ने वा निर्माण व्यवसायीहरूलाई थप सुविधा दिने कुनै पनि बाटो छैन । सबैले नेपाली सेनालाई निकै कडा अनुशासनमा रहने निकायका रूपमा बुझ्नुहुन्छ । तर नेपाली सेना कसैलाई पनि अप्ठ्यारोमा पार्न वा डुबाउन चाहँदैन । त्यसैले उहाँहरूले ठूलो दण्ड दिन खोज्नुभएन र निर्माण व्यवसायीहरूलाई पटक–पटक अवसर तथा सुविधा पनि दिनुभयो ।’

सरकारले आयोजना अवधि थप तीन वर्षभन्दा बढी लम्बिएको हेर्न नचाहेको पनि उहाँले बताउनुभयो । आगामी जेठसम्म सम्बन्धित ठेक्कामा अपेक्षित प्रगति हुनुपर्ने उल्लेख गर्दै उहाँले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसक्ने अवस्था देखिए ठेक्का अन्त्य गर्न आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणमा देखिएका चुनौतीबारे आम नागरिक तथा सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको पनि बताउनुभयो । आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानुनी व्यवस्था नै नरहेको अवस्थामा पनि नेपाली सेनाले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको उहाँको भनाइ थियो ।

हालै भएको सुरुङमार्गको ब्रेकथ्रुलाई महत्त्वपूर्ण उपलब्धि भन्दै उहाँले उक्त सुरुङ नेपालकै सबैभन्दा लामो सडक सुरुङ भएको बताउनुभयाे । उहाँले फास्ट ट्र्याकलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । ‘यस आयोजनाबाट हामीले सडक पूर्वाधार मात्रै प्राप्त गर्ने होइन, दक्ष विज्ञ तथा अनुभवी जनशक्ति पनि उत्पादन गर्नेछौँ । हाम्रा नेपाली इन्जिनियरहरूले यति ठूलो आयोजनामा काम गरेको महत्वपूर्ण अनुभव प्राप्त गर्नुहुनेछ । उहाँहरू नै हाम्रो सम्पती हुनुहुन्छ’ मन्त्री लम्सालले भन्नुभयो ।

आयोजनामा काम गरिरहेका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्तिले हासिल गर्ने ज्ञान, सीप र अनुभव भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

मन्त्री लम्सालले आगामी दिनमा यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सञ्चालन गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै त्यसमा नेपाली सेनाको भूमिका थप विस्तार गरिने बताउनुभयो । विपद्का बेला नेपाली सेनाले देखाएको तदारुकता, कार्यक्षमता तथा छोटो समयमै बेली ब्रिज निर्माण गर्ने सीपको पनि उहाँले प्रशंसा गर्नुभयो ।

सरकारले फास्ट ट्र्याकलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीमाथि कडाइ गर्ने र बाँकी कामलाई तीव्रता दिने नीति लिएको मन्त्री लम्सालले बताउनुभयो ।

Skip This