Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता


0
Shares

ललित बहादुर सिंह, बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

मंसिर ३० गते बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता भएका छन् ।

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनापछि अटोमा सवार अन्य व्यक्तिको अवस्थाबारे खोजी भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको जनाइएको छ ।

त्यसैगरी, खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा थप प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Skip This