काठमाडौं । दीपावली सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने चारदिने छठ पर्व आज नहाय–खाय विधिबाट सुरु भएको हो । सूर्यदेव र छठीमाताको आराधना गरिने यस पर्वलाई मिथिलावासीले श्रद्धा, निष्ठा र शुद्धताको महापर्वका रूपमा मनाउने गर्छन् ।
छठको पहिलो दिन नहाय–खाय विधि गरिन्छ भने दोस्रो दिन खरना मनाइन्छ । तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने अनुष्ठान सम्पन्न हुन्छ ।
पर्व सुरु भएसँगै मिथिलाका बस्तीहरूमा धार्मिक र सांस्कृतिक गतिविधि बढेका छन् । घरघरमा छठका पारम्परिक गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र छठीमाताको स्तुतिमा गाइने भक्तिगीतले गाउँबस्तीको वातावरण नै भक्तिमय बनेको छ ।
छठको तयारीसँगै नदी, पोखरी र जलाशयका किनारमा चहलपहल बढेको छ । श्रद्धालुहरू पूजाका लागि आवश्यक घाट निर्माण, सरसफाइ र सजावटमा जुटेका छन् । विशेषगरी युवाहरू सामूहिक रूपमा घाट व्यवस्थापन र पूजास्थललाई आकर्षक बनाउने काममा सक्रिय छन् ।
घरआँगनदेखि सार्वजनिक स्थलसम्म पर्वको झल्को देखिन थालेको छ । घरका भित्तामा लिपपोत र रङरोगन गर्ने, बाँसका सामग्रीबाट घर सजाउने तथा सडक र बस्तीमा झिलिमिली बत्ती जडान गर्ने क्रम बढेको छ । छठका लागि आवश्यक पूजासामग्री जुटाउने काममा पनि स्थानीयवासी व्यस्त देखिएका छन् ।
छठ केवल सूर्यको उपासना गर्ने धार्मिक पर्व मात्र नभई सामाजिक एकता, सद्भाव र समानताको सन्देश दिने उत्सवसमेत हो । छठघाटमा जातीय तथा सामुदायिक विभेदबिना सबै श्रद्धालु एउटै स्थानमा भेला भएर पूजा गर्ने परम्पराले यस पर्वको सामाजिक महत्व झल्काउँछ । आपसी मनमुटाव बिर्सेर सामूहिक रूपमा पर्व मनाउने चलनले सामाजिक सम्बन्धलाई समेत थप बलियो बनाउने विश्वास गरिन्छ ।
धनी होस् वा गरिब, सबैले आफ्नो सामर्थ्यअनुसार श्रद्धा र भक्तिका साथ छठ मनाउने तयारी गरेका छन् । धार्मिक आस्था, पारिवारिक एकता र सामूहिक सहभागिताको अनुपम संगम बनेको छठले यतिबेला सम्पूर्ण मिथिला क्षेत्रलाई पर्वमय बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्