काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा अर्का एक जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु रहेका छन्। गम्भीर घाइते भएका उहाँलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बारबर्दिया नगरपालिका–३ बानियाभारका २५ वर्षीय आशिष थारु गम्भीर घाइते भएका छन्। सोही मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारु भने सामान्य घाइते भएका थिए। उनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ।
त्यस्तै, भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र पछाडि सवार २०/२२ वर्षीय जमाल खान पनि गम्भीर घाइते भएका छन्।
प्रारम्भिक विवरणअनुसार हिजो दिउँसो करिब १ बजे विपरीत दिशाबाट आइरहेका दुवै मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्