काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गर्नुभयो । तर ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उहाँले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापामगरले नेपाल भाषा र तामाङ भाषाका विज्ञ सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको बताएउनुभयो। विज्ञहरूको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोग विस्तार गरिने उहाँको भनाइ छ ।
उहाँले नेपाल भाषा तथा नेवार समुदायको संस्कृति, संस्कार, रीतिरिवाज, कला र बाजागाजाको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
यसै क्रममा प्रदेशका प्रत्येक जिल्लामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको नाममा प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दनिुभयो । अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि प्रतिष्ठान स्थापनाका लागि बजेट उपलब्ध गराइने उहाँले बताउनुभयो ।
नेपाल भाषाको संरक्षण र विकास काठमाडौं उपत्यकामा मात्रै सीमित नराखी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेलगायत वागमती प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्नेमा उहाँले जोड दनिुभयो ।
भाषा र संस्कृतिको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले नेपाल भाषाको विकासका लागि प्राप्त सुझाव र मागलाई सम्बोधन गरिने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्