Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने भरवालियाका स्थानीयको बाध्यता


0
Shares

रूपन्देही । रूपन्देहीको मर्चवारनदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडिमा गएपनि डेढदेखि २ घण्टा टाढाबाट घुम्नुपर्ने वाध्यता रहेको छ ।

नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ । गाउँमा सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यजस्ता आधारभुत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयको गुनासो छ ।

स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान, बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताए । उनीहरूकाअनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था,शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ ।

स्थानीयकाअनुसार वि.सं २०३२ मा बाढी पसेपछि एउटा गाउँ खोला वारी र पारी छुट्टाएको हो । गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो स्थानबाट करिव एक किलोमिटर टाढा सार्नुपरेको थियो । त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन ।

वि.सं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले ५ जनाको मृत्यु भयो भने ठूलो क्षति पुर्याएको स्थानीयले स्मरण गरेका छन् । आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा पीडा भोग्नुपरेको तथा परिवारका सदस्यसमेत गुमाउनुपरेको उनीहरूको भनाइ छ ।

विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफूहरूको अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको स्थानीयको गुनासो छ ।

‘वर्षौंदेखि दुःख भोगिरहेका छौँ । गाउँमा सिधा बाटो छैन, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच छैन । नदीपारि जानुपर्दा लामो बाटो घुम्नुपर्छ । हाम्रो समस्या सुन्ने र समाधान गर्ने कोही भएन,’ खेतमा बदाम खन्दै गरेका स्थानीय राजेन्द्र गुप्ताले भने ।

तिनाउ दानव नदीमा एउटा झोलुङ्गे पुल भएपनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ । बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी

स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माणका लागि पहल गर्दै आएको बताए । उनकाअनुसार नदीमा पक्की पुल निर्माण हुनसके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिव ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

‘एउटा पक्की पुल र सिधा सडक निर्माण हुन सके यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या समाधान हुन्छ,किसानलाई खेतबारीमा पुग्न, कृषि उपज बजारसम्म पुर्याउन र बिरामीलाई उपचारका लागि लैजान सहज हुन्छ,’ स्थानीय अगुवा देवानले भने ।

उनकाअनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ । सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उनको भनाइ छ । यस वडामा करिव ६ हजार ५ सय जनसंख्या छ भने पालिकाभर ४३ हजार जनसंख्या छ ।

उहाले यहाँको वास्तविक अवस्थाका बारेमा अहिलेको सरकार र पुर्वाधार मन्त्री सुनिल लम्सालसहित यसक्षेत्रका संघीय सांसदहरू कन्हैया वनिया र तैफिक अहमदलाइ समेत भेटेरै जानकारी गराईएको बताए । यो रूपन्देहीको क्षेत्र न ४ अन्तर्गत पर्दछ ।

चुनावी आश्वासनमा सीमित रहेको विकास

स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन् । स्थानीयका अनुसार राजनीतिक नेतृत्व विभिन्न पदमा पुगे पनि बरवरियाको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या समाधान हुन सकेको छैन ।

मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले बरवरियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन् । खासगरि उनीहरूले तिनाउ दानव नदीमा पक्की पुल निर्माण, सडकको स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूको मूल पेशा नै खेतिकिसानी र मजदुरी रहेको छ ।

स्थानीयका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो । पुल निर्माण भए किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पुर्याउन र गाउँका बासिन्दालाई दैनिक कामकाज गर्न सहज हुने स्थानीय नन्दलाल हरिजनको भनाइ छ ।

वर्षौंदेखि विकासको प्रतीक्षामा रहेको भरवलियाका बासिन्दाले अब आश्वासनभन्दा कामको अपेक्षा गरेका छन् । आधारभुत सेवाको समेत सहज पहुँच नभएको यो गाउँमा सरोकारवालाको ध्यान समयमै जान जरूरी देखिन्छ । स्थित सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

Skip This