काठमाडौं । जलवायु परिवर्तनका मुद्दामा नेपालको धारणा प्रस्तुत गर्न परराष्ट्रमन्त्री शिशिर खनाल तुर्किएको आन्ताल्या पुगेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उनी नेपाली टोलीसहित त्यहाँ पुगेका हुन्।
नोभेम्बर ९ बाट सुरु हुने सम्मेलनको पहिलो दिन नै मन्त्री खनालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। नोभेम्बर ११ र १२ मा हुने राष्ट्र तथा सरकार प्रमुखहरूको विशेष भेलामा पनि उनको उपस्थिति रहनेछ।
हिमाली मुलुकहरूले सामना गरिरहेका जलवायुजन्य समस्यालाई समेत उनले सम्मेलनमा उठाउने कार्यक्रम छ। नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तान मिलेर आयोजना गर्न लागेको विशेष कार्यक्रममा हिमनदी पग्लिने क्रम, क्रायोस्फियरको अवस्था तथा जलवायु संकटसँग जुध्न आवश्यक वित्तीय सहयोगबारे छलफल हुनेछ।
त्यस्तै, सम्मेलनमा हुने अन्य औपचारिक तथा अनौपचारिक छलफलमा सहभागी हुने र विभिन्न मुलुकका मन्त्री तथा उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यसूची पनि रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सम्मेलनका कार्यक्रम सकेर मन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कनेछन्।









प्रतिक्रिया दिनुहोस्