काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले)सहित सबै वामपन्थी शक्तिहरुलाई एकताको लागि आह्वान गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकतावद्ध हुन जरुरी रहेको बताउनुभयो । हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरुलाई जोड्ने जिम्मेवारी समेत आफूहरुकै काँधमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कम्युनिष्ट कताको फेरि एउटा नयाँ कडी जोड्ने उद्घोष आज भएको छ । विगतमा साना–ठूला कम्युनिस्ट घटकहरूलाई एकतावद्ध गर्ने पहल जो गरेका थियौँ, त्यसैको नयाँ कडीको रूपमा आज नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको बीचमा फेरी आज एकता घोषणा भइराखेको छ । यो अन्तिम फेरि होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ । त्यसमा अघि नाम लिइयो, म फेरि पनि भन्न चाहन्छु, नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकतावद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ । माधवजीले केपी ओलीको नाम लिँदाखेरि अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ । त्यसकारण, म यो मञ्चबाट ती सबै कमरेडहरू जसलाई हामीले विगतमा विभिन्न रूपमा सहकार्य गर्यौँ, एकता गर्यौँ, थुप्रै–थुप्रै उतारचढावहरू भोग्यौँ, आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइलाई, आफ्नो बुझाइलाई, आफ्नो भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकतावद्ध हुने आजको आवश्यकता हो । हामी सबै त्यसैमा केन्द्रित होऔँ ।’
उहाँले अहिले देशको अस्तित्वज नै संकटको अवस्थामा पुगेको भन्दै यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको पनि बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्