काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।
आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। दिउँसो साढे १२ बजे सुरु हुने उक्त खेलमा काठमाडौं प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
कर्णाली याक्स भने जितको लयलाई निरन्तरता दिने योजनामा हुनेछ। यसअघिका दुवै खेल जितेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ। आजको खेल जित्दै टोली लगातार तेस्रो सफलता हात पार्न चाहन्छ।
त्यसैगरी, आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजे सुरु हुने खेल सुदूरपश्चिमका लागि अंक तालिकामा आफ्नो स्थिति सुधार्ने अवसरका रूपमा रहनेछ। तीन खेल खेलेको सुदूरपश्चिमले एकमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ।
अर्कोतर्फ, चितवन राइनोजले प्रतियोगितामा अहिलेसम्म हार बेहोरेको छैन। पहिलो खेलमा जित निकालेको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि विपक्षी टोलीसँग अंक बाँडेको थियो।









प्रतिक्रिया दिनुहोस्