काठमाडाैं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेको औँल्याउँदै सरकारले डर र त्रास देखाउनुको सट्टा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार बोल्दै उहाँले आर्थिक सुधार र कानून निर्माणका लागि प्रमुख प्रतिपक्षी दल संसदमा चौबीसै घण्टा काम गर्न तयार रहेको स्पष्ट पार्नुभएको हो । थापाले वर्तमान समयमा मुलुकको पहिलो प्राथमिकता र चुनौती अर्थतन्त्र नै भएको उल्लेख गर्नुभयो ।
बैंकहरूमा पर्याप्त तरलता थुप्रिए पनि कर्जा प्रवाह नहुनु, विश्व बैंकको तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा ऋण असुलीको चर्को दबाब पर्नु र आन्तरिक तथा वाह्य लगानी खुम्चिनु गम्भीर चिन्ताको विषय भएको उहाँको भनाइ छ । पछिल्लो समय प्राकृतिक विपत्ति र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण सरकारी ढुकुटी दबाबमा परेको र महँगी अचाक्ली बढेको विश्लेषण गर्दै उहाँले सरकारले वास्तविक समस्या पहिचान गर्न नसकेको टिप्पणी गर्नुभयो ।
अर्थतन्त्रको मुख्य जड नीतिगत अनिश्चितता भएको बताउँदै उहाँले भन्नुभयो, ‘आज नेपालको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र हो । फागुन २१ अघि पनि अर्थतन्त्रका समस्या थिए, त्यसैले नयाँ सरकारलाई सुधारको जनादेश प्राप्त भएको हो । अब ती समस्या समाधान गर्ने जिम्मेवारी सरकारकै हो । राष्ट्र बैंक तथा विश्व बैंकका तथ्याङ्कले बैंकमा तरलता थुप्रिए पनि कर्जा विस्तार र लगानी अपेक्षाअनुसार हुन नसकेको, व्यवसायीहरू ऋणको किस्ता तिर्नसमेत कठिनाइमा रहेको देखाउँछन् ।
विकास खर्च, प्राकृतिक विपद् र मूल्यवृद्धिले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेका छन् । अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या अहिले विश्वासको सङ्कट हो । सरकारका नीति र निर्णयहरू पूर्वानुमानयोग्य नहुँदा कर्मचारी, व्यवसायी र लगानीकर्तामा असुरक्षा बढेको छ । प्रहरी, प्रशासन, अदालत र संवैधानिक निकायप्रतिको विश्वासमा समेत प्रश्न उठिरहेका छन् ।
यस्तो अवस्थामा सरकारले भय र त्रासको वातावरण होइन, विश्वास र भरोसाको वातावरण निर्माण गर्नुपर्छ। आर्थिक सुधारका लागि सरकारसँग सहकार्य गर्न नेपाली काँग्रेस तयार छ । हामी राष्ट्रिय सभामा ठूलो दल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका रूपमा आर्थिक सुधारसम्बन्धी विधेयक पारित गर्न पूर्ण सहयोग गर्न तयार छौँ । सरकारले आवश्यक विधेयक ल्याओस्, संसद नियमित सञ्चालन गरेर छिटोभन्दा छिटो सुधारका काम अघि बढाऔँ। अध्यादेशको बाटो रोज्नुपर्ने आवश्यकता छैन ।
अहिले सरकारको मुख्य ध्यान राजनीतिक खिचातानी र प्रचारमा होइन, अर्थतन्त्र सुधार, लगानी विस्तार, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित हुनुपर्छ । सरकारलाई हाम्रो स्पष्ट सन्देश छ । देशको अर्थतन्त्र सुधार गर्नुहोस्, विश्वासको वातावरण बनाउनुहोस्; त्यसका लागि प्रतिपक्षका रूपमा हामी सहकार्य गर्न तयार छौँ ।’
सरकारले सस्तो प्रचार र सामाजिक सञ्जालको वाहवाहीमा समय खेर फालेको आरोप लगाउँदै उहाँले अर्थतन्त्र सुधार्न अध्यादेशको बाटो रोज्न नपर्ने उल्लेख गर्नुभयो । प्रमुख प्रतिपक्षी दल जिम्मेवार ढंगले उभिन तयार रहेको जनाउनु भयो । उहाँले नेतृत्वले स्टन्टबाजी छाडेर जनता र व्यवसायीमा आत्मविश्वास जगाउने ठोस योजना अघि सार्नुपर्ने माग गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्