Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


नेपाल–भारत सीमा सुरक्षा र प्रविधिमैत्री व्यवस्थापनमा सहकार्य बढाउने सहमति


39
Shares

काठमाडौं । नेपाल र भारतले सीमा सुरक्षा थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौंमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकमा यस्तो सहमति भएको हो ।

बैठकमा यसअघि सम्पन्न नवौँ समन्वय बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो । साथै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा सहकार्य विस्तार गर्दै समयमै सूचना आदानप्रदान गरी सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीसहित परराष्ट्र तथा गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारतका तर्फबाट एसएसबीका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

दुवै देशका सुरक्षा निकायले नेपाल–भारत सीमा क्षेत्रको शान्ति र सुरक्षा कायम राख्न प्रदर्शन गरेको व्यावसायिकता तथा आपसी सहकार्यको बैठकमा प्रशंसा गरिएको थियो । सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाबाट उत्पन्न हुने सुरक्षा चुनौती तथा सामाजिक सद्भावमा पर्ने असर न्यूनीकरण गर्न संस्थागत सहकार्य बढाउने सहमति पनि भएको छ ।

दशगजा क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउन अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिने निर्णय भएको छ । बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) का निर्णयअनुसार सीमा स्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि स्थलगत समन्वय थप प्रभावकारी बनाउने सहमति समेत भएको छ ।

त्यस्तै, सीमापार आपराधिक सञ्जाल, तस्करी, मानव बेचबिखन, नक्कली नोट तथा लागुऔषध कारोबार नियन्त्रणका लागि सूचना आदानप्रदानलाई निरन्तरता दिने निर्णय गरिएको छ । खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना उपलब्ध गराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् ।

सीमा सुरक्षामा देखिएका चुनौती सामना गर्न आधुनिक प्रविधिको प्रयोग र विशेष तालिमको व्यवस्था विस्तार गर्ने तथा दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध थप मजबुत बनाउने निर्णय भएको छ ।

परम्परागत सीमा सुरक्षा प्रणालीलाई आधुनिक तथा प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनमा रूपान्तरण गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । यसअन्तर्गत दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने र दुवै देशले आ–आफ्नो क्षेत्रमा ड्रोनको प्रयोग बढाउने विषयमा छलफल भएको हो ।

प्राकृतिक विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने क्रममा बाढी, पहिरो तथा भूकम्पजस्ता विपद्का बेला उद्धार कार्यलाई प्रभावकारी बनाउन चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘जोइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्ने विषय पनि उठाइएको थियो ।

सीमा नाकाबाट आवतजावत गर्ने वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउन सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने सहमति भएको छ । यसका साथै मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी दुई देशबीचको विश्वास र सद्भाव अभिवृद्धि गर्ने निर्णय गरिएको छ ।

गत कात्तिक ११ गतेदेखि सुरु भएको बैठक सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको छ । आगामी वर्ष ११औँ नेपाल–भारत समन्वय बैठक भारतमा आयोजना गरिनेछ ।

Skip This