काठमाडाैं । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएकाे छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताउनुभएको हो । शुक्रवार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उहाँले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएको अवस्थामा उडान सुरक्षित बनाउन सकिने भएपनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उहाँको भनाइ छ । उहाँले ड्रोन र हेलिकप्टर आपसमा ठोक्किने वा दुईवटा हेलिकप्टरबीच नै दुर्घटना हुनसक्ने जोखिम रहेको उल्लेख गर्नुभयो । विपद्का बेला प्रभावकारी हवाई क्षेत्र व्यवस्थापन नहुँदा अर्को दुर्घटना निम्तिने त्राससमेत रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ड्रोन र हेलिकप्टरबीच उचित सञ्चार तथा हवाई क्षेत्र व्यवस्थापन नहुँदा आपसमा ठोक्किने जोखिम अत्यन्तै उच्च थियो । यसले उद्धार कार्यकै क्रममा अर्को दुर्घटना निम्तिन सक्ने त्रास सिर्जना गरेको थियो । त्यसैले उद्धारका क्रममा प्रभावकारी हवाई समन्वय र एयरस्पेस व्यवस्थापन आवश्यक देखियो ।’
विपद्का समयमा अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायहरूबीच पर्याप्त सञ्चार र समन्वय नहुँदा उद्धार उडानहरू निकै जोखिमपूर्ण बन्दै गएको बैठकमा औंल्याइएको छ । विशेष गरी उद्धार क्षेत्रमा अनुमतिबिना वा जथाभावी उडाइने ड्रोनका कारण हेलिकप्टर चालकहरूले गम्भीर सुरक्षा चुनौती व्यहोर्नुपरेको विषय बैठकमा प्रमुखताका साथ उठेको हो ।
छलफलका क्रममा ड्रोन पाइलट र उद्धारमा संलग्न हेलिकप्टरका पाइलटहरूबीच प्रत्यक्ष सञ्चार सम्पर्क नहुँदा आकाशमै ठोक्किने उच्च जोखिम रहेको उल्लेख गरिएको छ । उद्धार कार्यमा खटिएका बहुसंख्यक हेलिकप्टरहरू एउटै क्षेत्रमा केन्द्रित हुँदा प्रभावकारी एयरस्पेस व्यवस्थापनको अभावले आकाशमै विमान जुधेर उद्धारस्थलमै अर्को ठूलो मानवीय विपद् सिर्जना हुनसक्ने त्रास सुरक्षाकर्मीहरूमा देखिएको उहाँले बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्