Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, ६५ प्रतिशत मात्रै काम सम्पन्न


182
Shares

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अपेक्षित गति लिन सकेको छैन। आगामी पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत काम मात्रै पूरा भएको छ।

बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ हुनु, निर्माण सामग्रीको मूल्य बढ्नु, मौसममा आएको परिवर्तन र पुरानो संरचनामै निर्माण गर्नुपर्ने अवस्थाका कारण काम प्रभावित भएको हो। निर्माण कम्पनीले पनि तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकिने जनाएको छ।

रंगशालाको मुख्य मैदान, विद्युत् जडान तथा केही संरचनाको निर्माण अझै बाँकी छ। चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन्। तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम सकिएको छ। अहिले दैनिक करिब ८० जना कामदार निर्माणमा खटिएका छन्।

सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो। पहिलो भेरिएसन अर्डर स्वीकृत भएपछि आयोजनाको लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ। निर्माण कम्पनीले निर्धारित समयभित्र काम पूरा गर्न नसकिने भएपछि म्याद थपका लागि अनुरोध गर्ने तयारी गरेको छ।

भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्दै कामलाई तीव्रता दिन आग्रह गरेको छ। रंगशालाको निर्माण सम्पन्न भएपछि भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने महानगरको लक्ष्य छ।

Skip This