Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


169
Shares

काठमाडौं । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको छ। सोही अवधिमा करिब २० लाख बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ।

सरकारले नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते सञ्चालन गर्दै आएको भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष दसैँ परेकाले स्थगित गरेको थियो। स्थगित कार्यक्रमलाई कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

Skip This