माधव पोखरेल, उदयपुर । निर्माण सुरु भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि गाईघाट–दिक्तेल सडकअन्तर्गतको सगरमाथा लोकमार्गले पूर्णता पाउन सकेको छैन। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आर्थिक वर्ष २०५१र५२ मा गाईघाटमा शिलान्यास गरेको सडकको निर्माण कहिले सम्पन्न हुन्छ भन्ने अझै निश्चित भएको छैन।
गाईघाट–दिक्तेल सडक योजनाको कार्यालय स्थापना भएपछि आर्थिक वर्ष २०५१/५२ देखि सडकको ट्र्याक खोल्न थालिएको थियो। ट्र्याक खोल्ने काम आर्थिक वर्ष २०७२/७३ मा मात्रै पूरा भयो। त्यसपछि सडक स्तरोन्नति, ग्राभेल र कालोपत्रेको काम अघि बढे पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन।
सडक योजना कार्यालयका अनुसार निर्माण व्यवसायीको ढिलासुस्ती, सम्झौताअनुसार काम नगर्ने, भुक्तानी लिएर सम्पर्कविहीन हुने तथा निर्माण मापदण्ड र निर्देशन पालना नगर्ने प्रवृत्तिका कारण आयोजना प्रभावित भएको हो। समयमै काम नगरेको भन्दै तीन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाहीसमेत गरिएको कार्यालयले जनाएको छ।
सुरुमा सप्तरीको कदमाहादेखि गाईघाट हुँदै दिक्तेल र सोलुखुम्बुसम्म सडक विस्तार गर्ने उद्देश्य राखिएको थियो। पछि खोटाङको माहुरेदेखि दिक्तेल बजारसम्मको १४ किलोमिटर सडकको जिम्मा मध्यपहाडी लोकमार्गले लिएपछि गाईघाटदेखि माहुरेसम्मको १०१ किलोमिटर सडक गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत रहँदै आएको छ।
योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुमन गोलेका अनुसार १०१ किलोमिटरमध्ये हालसम्म ३७ किलोमिटर सडक कालोपत्रे भएको छ भने ५४ किलोमिटर ग्राभेल गरिएको छ। बाँकी ६४ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ। बहुवर्षीय ठेक्काअन्तर्गत काम भइरहेको र आर्थिक वर्ष २०८४/८५ भित्र सबै सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
योजना प्रमुख डीई विवेक पाण्डेका अनुसार आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ३० प्रतिशत पुगेको छ। सुरुको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का तोडेर पुनः ठेक्का लगाइएको थियो। अहिले दिव्यज्योति र रायमाझी निर्माण कम्पनीले विभिन्न खण्डमा काम गरिरहेका छन्। बाँकी रहेको डेढ वर्षभित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको उनले बताए।
योजनाका इन्जिनियर रिकेश महर्जनका अनुसार चालु आर्थिक वर्षमा चारवटा ठेक्कामार्फत काम भइरहेको छ। राजापानी–सिम्पानीदेखि माहुरेसम्मको सडक खण्डमा रायमाझी निर्माण कम्पनीले ४४ करोड २३ लाख ८१ हजार रुपैयाँमा ठेक्का लिएको छ। २०८१ माघ ३ मा सम्झौता भएको उक्त कामको म्याद २०८४ माघ २ सम्म छ।
त्यस्तै, फोक्सिङटारदेखि खोटेहाङ गाउँपालिका–९ राजापानीसम्मको खण्डमा दिव्यज्योति निर्माण कम्पनीले ४२ करोड १३ लाख ७६ हजार रुपैयाँमा ठेक्का लिएको छ। २०८१ चैत १७ मा सम्झौता भएको यस कामको म्याद २०८४ चैत १६ सम्म रहेको छ।
साउनेको दियालेदेखि फोक्सिङटारसम्मको ३२ किलोमिटर सडक निर्माणको जिम्मा कञ्चनजंगा गोल्डेनगुड जेभीले ३१ करोड ९४ लाख ८५ हजार रुपैयाँमा लिएको थियो। २०७३ कात्तिक १२ मा भएको सम्झौताअनुसार २०८३ असोज २१ सम्म काम सक्नुपर्ने भए पनि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, अर्को सडक खण्डको निर्माणका लागि जिएससी पुकार जेभीसँग ६ करोड ४५ लाख ३९ हजार रुपैयाँमा २०८१ असोज १३ मा सम्झौता भएको थियो। उक्त काम २०८३ कात्तिक ३० सम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
लामो समयदेखि निर्माणाधीन सगरमाथा लोकमार्गको काममा पटक–पटक ढिलाइ हुँदा स्थानीयले पूर्ण सडकको सुविधा पाउन सकेका छैनन्। आयोजना कार्यालयले भने निर्धारित समयभित्र निर्माण पूरा गर्ने लक्ष्यसहित काम अघि बढिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्