Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत


156
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताउनुभएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्नुभयो । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उहाँको भनाई छ ।

अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यसवर्ष महंगीले चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरु बिर्सिसकेका छन् । आज जनताहरु यति धेरै आतंकित छन् कि अब हामीलाई आतंक मुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोको जनताको मागका इस्युहरु नै डाइभर्ट भएको स्थिति छ । दसैँ, तिहार, छठ, ल्होसार लगायतका पर्वहरु आइरहँदा महङ्गीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरुले यी पर्वहरु मनाएका थिए, यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन । ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ । खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशत भन्दा बढी बढेको छ । दैनिक जबन जनजीवन निकै अस्तव्यस्त छ ।’

उहाँले जनता पछिल्लो समय आतंकित बनेको बताउनुभयो । सरकारको रबैयाका कारण जनताले शान्ति सुरक्षा, विकास र समृद्धिका कुरा नै बिर्सिसकेको उहाँको दाबी छ ।