काठमाडाैं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीको आन्तरिक जीवनलाई सशक्त बनाउँदै मुलुकलाई विद्यमान संकटबाट निकास दिन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।
पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ९० वर्ष कटेका पुराना पुस्ताको अनुभवदेखि ‘जेन–जी’ तथा ‘अल्फा’ पुस्ताका नयाँ आकांक्षालाई एकाकार गरेर विश्वसँग प्रतिष्पर्धी काँग्रेस निर्माण गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताउनुभएको हो ।
नेता महरले देश र काँग्रेस पार्टी दुवै अहिले गम्भीर चुनौती र संक्रमणकालीन मोडमा उभिएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काँग्रेसको छवि उच्च बनाउन नीतिगत रूपान्तरण आवश्यक रहेको औंल्याउनु भयो । पार्टीलाई केवल निर्वाचन जित्ने औजारमा मात्र सिमित नराखी जनताको सुख–दुःखमा एकाकार गराउने माध्यम बनाउनुपर्नेमा उहाँको जोड छ । महरकाअनुसार बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, नवप्रवर्तन, युवा रोजगारी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक विषयहरूलाई अबका राजनीतिक दलहरूले बेवास्ता गर्न सक्दैनन् ।
उहाँले भन्नुभयो, ‘जनता र राजनीतिक नेतृत्वबीच फराकिलो बन्दै गएको खाडल पुर्नु आजको मुख्य आवश्यकता हो । नागरिकमा छाएको निराशा चिरेर उत्साह भर्न र अर्थतन्त्रमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न कांग्रेसले अगुवाइ गर्नुपर्छ । पहिलो शर्त योग्यता र क्षमता नै हो, तर लोकतान्त्रिक प्रतिष्पर्धामा जनअपेक्षा र लोकप्रियतालाई पनि नजरअन्दाज गर्न सकिँदैन ।’
नेतृत्व छनोटको मापदण्डबारे धारणा राख्दै उहाँले योग्यता र लोकप्रियता दुवैको सन्तुलन आवश्यक हुने तर्क गर्नुभयो ।
उम्मेदवारी फिर्ता लिने समयसीमा सकिइसकेकाले अब कुनै दबाबको अर्थ नरहेको र स्वच्छ प्रतिष्पर्धाबाटै सक्षम नेतृत्व चुनिने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसैबीच, निर्वाचन प्रक्रियाबारे प्रष्ट पार्दै नेता महरले मतपत्र छपाइ तथा आन्तरिक व्यवस्थापनका केही प्राविधिक तयारीका कारण मतदान शुरु हुन केही ढिलाइ भएको जानकारी दिनुभयो ।
निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार तोकिएको समयमै मतदान शुरु भई प्रतिनिधिहरूले विवेकपूर्ण मत दिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्