काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान निर्वाचनको तयारी पूरा नभएपछि दिउँसो १ बजेसम्मका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।
१५ औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने मतदान हुनेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा व्यवस्था गरिएको छ। प्रदेशअनुसार मतदानस्थल तोकिएको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय सभागृहस्थित ‘मतदान केन्द्र क’ मा वाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चस्थित ‘मतदान केन्द्र ख’ मा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले छुट्टाछुट्टै हलमा मतदान गर्ने व्यवस्था गरिएको छ।
कर्णाली, सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समितिका प्रतिनिधिका लागि भने छुट्टै मतदान केन्द्र तोकिएको छ।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्