काठमाडौं । नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकतावद्ध हुनुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले युवाहरु आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताउनुभयो ।
पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि काँग्रेस एकढिक्का हुनुको विकल्प नरहेको उहाँको भनाई छ । वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र जोगाउन, संविधान जोगाउन भोलि हुन सक्छ तपाईं–हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, जेल जानुपर्ने हुन्छ । त्यसका लागि पनि तयार हुनुस्, यो सरकार सन्काहा सरकार हो । जतिबेला जे पनि संविधान मास्न सक्छ, व्यवस्था मास्न सक्छ । त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’
उहाँले तरुण दलको संगठनभित्र एकता कायम राख्न आग्रह गर्दै पार्टी र संविधान संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाली काँग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै उहाँले आफूलाई सहयोग गर्न पनि तरुणहरुलाई आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्