Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बिना बिल आइफोन बेचेको आरोपमा चितवनमा दुई जना पक्राउ


0
Shares

समीर चापागाईं, चितवन । चितवन प्रहरीले बिना बिल मोबाइल पोखरा लैजाँदै गरेको अवस्थामा थप एकजनालाई पक्राउ गरेको छ। आइतबार साँझ ७ बजे भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

चितवन प्रहरीप्रमुख रामेश्वर पौडेलका अनुसार रामनगरबाट जुगेडी हुँदै पोखरा जाँदै गरेको अवस्थामा जिल्ला तनहुँ व्यास नगरपालिका–२ का २८ वर्षीय उमनन्द भुजेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनले बोकेको झोलाभित्र बिलबिजकबिना रहेका ५ थान iPhone फेला परेका थिए।

प्रहरीले ती मोबाइल फोन कानुनबमोजिम बरामद गरी उमनन्द भुजेललाई पक्राउ गरेको जनाएको छ। बरामद मोबाइलसहित उनलाई पनि दीपक मोबाइल हाउसका सञ्चालक प्रसाईं सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ।

यस अघि चितवन प्रहरीले बिना बिल मोबाइल बेचेको आरोपमा दीपक मोबाइल हाउसका सञ्चालक दीपक प्रसाईलाई पक्राउ गरेको थियो । प्रहरीले दुबैगरी ६७ थान मोबाइल बरामद गरेको छ ।

यसरी चितवन प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीबाट ५० थान iPhone, ८ थान Samsung, २ थान Redmi, १ थान iPad, १ थान Vivo र थप ५ थान iPhone गरी कुल ६७ थान मोबाइल/उपकरण बरामद गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।