काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टीका प्रमुख पदाधिकारीका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।
लुम्बिनीबाट सभापति पदमा बर्दियाका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गर्नुभएको छ। उपसभापति पदका लागि दाङका दीपक गिरी र अर्घाखाँचीकी पुष्पा भुसालले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ।
यस्तै, महामन्त्री पदमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र सहमहामन्त्रीमा योगेन्द्र चौधरीले पुनः उम्मेदवारी दिने तयारी गर्नुभएको छ। आकांक्षी नेताहरूले सामाजिक सञ्जाल तथा आफ्ना सचिवालयमार्फत प्रचारप्रसारलाई तीव्रता दिइरहनुभएको छ।
तर सभापतिका आकांक्षी राठौर भने बर्दिया क्षेत्र नम्बर २ को क्रियाशील सदस्यता विवादका कारण अझै महाधिवेशन प्रतिनिधि चयन हुन सक्नुभएको छैन। निर्वाचन समितिको ढिलाइ र सुरक्षासम्बन्धी कारणले प्रतिनिधि छनोट प्रक्रिया अघि बढ्न नसक्दा राठौरसँगै केन्द्रीय सदस्य डा. गोपाल दहितलगायतका नेताहरू अन्योलमा पर्नुभएको छ।
निर्वाचन समितिले सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ। प्रतिनिधि चयनसम्बन्धी विवाद समयमै समाधान हुन नसके राठौरलाई सभापति पदमा उम्मेदवारी दिनसमेत कठिनाइ हुने अवस्था देखिएको छ।









प्रतिक्रिया दिनुहोस्