Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कार्यसम्पादनमा उत्कृष्ट बने डा. शिरीष श्रेष्ठ, जिल्ला अस्पताल बाजुराद्वारा सम्मान


0
Shares

जनक बोहरा, बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ (अर्थोपेडिक सर्जन) डा. शिरीष श्रेष्ठ कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ।

दुर्गम बाजुरामा रहेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै अस्पतालको सेवामा पुर्‍याएको योगदानको कदर गर्दै जिल्ला अस्पताल बाजुराले उहाँलाई विशेष कार्यक्रम आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरेको हो।

काठमाडौंस्थित किष्ट मेडिकल कलेजबाट चिकित्सा शिक्षा पूरा गर्नुभएका डा. श्रेष्ठ सर्लाहीमा जन्मिनुभएको हो। अध्ययन पूरा गरेपछि उहाँले आफ्नो पहिलो सेवाका रूपमा जिल्ला अस्पताल दोलखामा एक वर्ष काम गर्नुभएको थियो। त्यसपछि दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले उहाँ बाजुरा आउनुभएको हो।

बाजुरा आएयता करिब नौ महिनाको अवधिमा डा. श्रेष्ठले २९७ जना बिरामीको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिसक्नुभएको छ। उहाँको सक्रियता र सेवाभावका कारण दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सकीय सेवा पाउने अवसर पाएका छन्।

विशेषगरी हाडजोर्नीसम्बन्धी जटिल समस्या लिएर उपचारका लागि जिल्ला अस्पताल पुग्ने बिरामीलाई उहाँले नियमित सेवा दिँदै आउनुभएको छ। उहाँको आत्मीय व्यवहार र प्रभावकारी उपचार सेवाका कारण स्थानीयवासीमा समेत उहाँप्रति विश्वास बढेको अस्पतालले जनाएको छ।

बाजुराका अतिरिक्त छिमेकी जिल्ला अछाम, मुगु र हुम्लाबाट समेत उपचारका लागि बिरामीहरू डा. श्रेष्ठकहाँ पुग्ने गरेका छन्। दुर्गम क्षेत्रमा रहेर विशेषज्ञ सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला अस्पतालले उहाँलाई यस वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको हो।

Skip This