Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै महाधिवेशन स्थलमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ। ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको हेल्थ डेस्कमा पाँचवटा स्टल र दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो। यहाँ सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक उपचारसम्मका सेवा उपलब्ध गराइनेछ।

डा. केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। प्रत्येक सिफ्टमा आठ जना चिकित्सक, पारामेडिक्स र नर्ससहितको स्वास्थ्य टोली खटिनेछ। प्रतिनिधिहरूका लागि रक्तचाप तथा मधुमेह परीक्षणको व्यवस्था गरिएको छ भने सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधिसहितका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।

आकस्मिक अवस्थामा प्रतिनिधिलाई अस्पताल लैजानुपर्ने भए नजिकका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। यसका लागि महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्।

रातिको समयमा स्वास्थ्य समस्या देखिने प्रतिनिधिका लागि ‘अनकल ड्युटी’को व्यवस्था गरिएको डा. केसीले जानकारी दिनुभयो। होटलमा बसेका प्रतिनिधिलाई आवश्यक परे स्वास्थ्यकर्मी होटलमै पुगेर परीक्षण तथा उपचार गर्ने व्यवस्था पनि गरिएको छ।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कबाट आयुर्वेदिक र एलोप्याथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। प्रतिनिधिहरूको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक औषधिको पर्याप्त व्यवस्था गरिएको उहाँले बताउनुभयो।

Skip This