Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


पूर्वराष्ट्रपति भण्डारी बनिन् एमालेको वरिष्ठ नेता


819
Shares

काठमाडाैं ।

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ । 

बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरेको प्रश्ताव गरेको थियो । ललितपुरमा सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उक्त प्रश्ताव अनुमोदन गरेको सचिव पद्या अर्यालले जानकारी दिनुभयो ।

उहाँले पार्टी सदस्यता प्रदान गरिसकेपछि भण्डारीलाई जिम्मेवारीविहीन राख्नु उपयुक्त नहुने भन्दै यस्तो निर्णय गरिएको बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको ११औँ महाधिवेशनअघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो । त्यतिबेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुला राजनीतिमा वा कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो ।

सचिव अर्यालले केन्द्रिय सदस्य तथा स्थायी समिति सदस्यमा नेताहरुको नाम अनुमोदन गरी सचिवालयमा पठाउने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी)ले पार्टी सदस्यताको निम्ति महाधिवेशन पूर्व नै आवेदन गर्नुभएको थियो । त्यो बेला पार्टीले राष्ट्रको सम्मानित पदमा गइसकेको व्यक्तित्व यसरी खुला राजनीतिमा वा कुनै पार्टी विशेषको सक्रिय राजनीतिमा नआउँदा राम्रो हुन्छ कि भन्ने हिसाबले हाम्रो पार्टीमा पनि बहस चलेको थियो । पछि उहाँले पार्टीप्रति आफ्नो आस्था राख्नु नागरिक अधिकार हो भन्ने कुरा पनि राख्नुभयो । उहाँको पार्टी सदस्य हुने चाहानालाई पार्टीले सम्बोधन गरेको थियो । सदस्यता प्रदान भइसकेपछि त्यत्तिको सम्मानित व्यक्तित्वलाई पार्टीले एउटा जिम्मेवारी दिनु स्वभाविक हो । विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्ने कुरा हुँदैनथ्यो । तसर्थ उहाँलाई जिम्मेवारी दिँदा के दिँदा उपयुक्त हुन्छ भन्दा हामीले उहाँको व्यक्तित्व, उहाँको क्षमता, उहाँको अभिभावकत्व यो सबै कुरालाई ख्याल गर्दै अहिले सम्मानित वरिष्ठ नेताको रुपमा उहाँलाई यो पार्टीमा स्थान दिने, सम्मान दिने भन्ने निर्णय पार्टीले गरेको छ ।’

समय अभावको कारण पोलिटब्यूरो गठनको प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

Skip This