Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्त : ८ हजारभन्दा बढीले पाए उपचार


13
Shares

काठमाडाैं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले आपतकालीन स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ ।

राष्ट्रिय सभाको बैठकमा बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ८ हजार ७ सय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनुभएको हो ।

संसदमा बाढीपछिको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै मन्त्री मेहताले दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा हेलिकप्टरमार्फत औषधि र उपकरण ढुवानी गरिएको बताउनु भयो । बाढीका कारण प्रभावित जिल्लाका ४ वटा स्वास्थ्य संस्था पूर्ण र अन्यमा आंशिक क्षति पुगेको उल्लेख गर्दै उहाँले वैकल्पिक संरचना र टेन्टमार्फत स्वास्थ्य सेवा निरन्तर जारी राखिएको स्पष्ट पार्नुभयो ।

मन्त्री मेहताकाअनुसार हाल ३४ वटा आकस्मिक चिकित्सा टोलीमार्फत करिव १५० जना स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । यसबाहेक, जोखिममा रहेका गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । प्रसूति तथा बाल अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले प्रभावित क्षेत्रमा पुगेर मातृ तथा नवजात शिशुको स्वास्थ्य जाँच गरिरहेको छ ।

दीर्घरोगीहरूको उपचारमा अवरोध नआओस् भनी नसर्ने रोगका औषधि निःशुल्क वितरण गरिएको छ । नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका बिरामीहरूको नियमित स्वास्थ्य अनुगमन भइरहेको छ । साथै, क्षयरोग र एचआईभी संक्रमितहरूको उपचारको निरन्तरता सुनिश्चित गर्न औषधिको आपूर्ति सहज बनाइएको र मिर्गौला रोगीहरूको डायलाइसिस सेवालाई समेत वैकल्पिक अस्पतालहरूसँग समन्वय गरी व्यवस्थापन गरिएको छ ।

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न ९० जना मनोसामाजिक परामर्शदाता परिचालन गरिएको छ । हालसम्म करिव १२ हजार ९ सय ६९ पटक परामर्श सेवा प्रदान गरिनुका साथै २४ सै घण्टा चल्ने ११६६ हेल्पलाइनमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको मन्त्रालयले जनाएको छ । मन्त्री मेहताले बाढी प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलन नदिन र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय पूर्ण सचेत रहेको बताउनु भयो ।