काठमाडाैं । २० औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै पदक पक्का गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो।
खेलको पहिलो हाफमा नेपालले १९–१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले ९ अंकको अन्तरले श्रीलंकामाथि जित निकालेको हो।
यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग भने पराजित भएको थियो। समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइले सेमिफाइनलको यात्रा तय गरेका छन्।
सेमिफाइनलमा प्रवेश गरेसँगै महिला कबड्डीमा नेपालको पदक निश्चित भएको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
यसअघि १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।









प्रतिक्रिया दिनुहोस्