Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


शक्तिशाली टाइफुन ‘डुजुआन’ आँधी जापानतर्फ बढ्याे, ३ सय हवाई उडान रद्द

१६ लाख बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह, विद्युत सेवा पनि अवरूद्ध

4.8k
Shares

एजेन्सी । शक्तिशाली टाइफुन ‘डुजुआन’आँधी जापानतर्फ अघि बढ्दै गर्दा करिब ३ सय उडान रद्द गरिएकाे छ।

आइतबार बिहान टोकाइ क्षेत्रको दक्षिणी समुद्री क्षेत्रमा उत्तरतर्फ सर्दै गरेको डुजुआन सोमबारदिउँसोदेखि मंगलबार बिहानसम्ममा इजु टापु हुँदै कान्तो क्षेत्र नजिक पुग्ने र त्यसपछि तोहोकुको तटबाट पूर्वतर्फ अघि बढ्ने पूर्वानुमान गरिएको हाे ।१६ लाख भन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। जापान एयरलाइन्सले १ सय ३५ र अल निप्पोन एयरवेजले १ सय ४० उडान रद्द गरेका छन् ।

टोकियो आसपासका ९ हजार भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको हाे । टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ । केही रेल सेवासमेत स्थगित भएका हुन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार आजसम्म हुने कूल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाघ्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना छ ।

एजेन्सीले आँधी आउनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार राजधानी र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको हाे । चिबामै आयोजना हुने भनिएको ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको हाे । कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभएको छ । टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १ सय ३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १ सय ४४ किलोमिटरको गतिमा हावा चलेको थियो ।