Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अध्यक्ष ओलीद्वारा अस्वीकार


182
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ।

साेमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभएकाे हाे। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहडको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभएकाे छ । केही नेताहरूतर्फ लक्षित गर्दै उहाँले ईर्ष्या, हतारो, दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचुँडी रोक्न उभिएको बताउनुभएकाे छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो । उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि, तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभएकाे छ।

अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको ठोस कार्यक्रमसहित अघि बढाउने दावी गर्नुभयाे।